लुम्बिनीखबर
भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भन्सार सहजिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
संघको सभाहलमा मंगलवार गरेको अन्तरक्रिया कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देहीक्षेत्रका उद्योग व्यवसायीहरु र सञ्चारकर्मीहरुको सहभागी रहेको थियो ।
कार्यक्रममा भन्सार विन्दुमा हुने झन्झट, भन्सार सर्वरको कारण देखाउदै गरिने ढिलासुस्ती, कर्मचारीले गर्दा पर्ने समस्या तथा पार्किङ्मा देखिएका विलम्बका विषयमा सहभागी उद्योगी व्यवसायीले गुनासो व्यक्त गरेका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भैरहवा भन्सार कार्यालय नेपालको प्रमुख भन्सार भएकाले यसलाई व्यवस्थित र व्यापार सहजीकरणमा सवैक्षेत्रले भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले यो भन्सारले वस्तुको निकासी र पैठारीमा सहज वातावरण श्रृजना गर्नका लागि समेत भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यो भन्सारमा वस्तुको निकासी र पैठारीमा उद्योग व्यवसायीलाई रहेको समस्या तुरुन्त समाधान गर्नका लागि आग्रह गर्नुभयो । उहाँले भन्सार कार्यालय र अन्नपूर्ण टर्मिनल विचको समन्वयको अभाव देखिएको भन्दै यो समस्याले व्यवसायीहरुलाई आर्थिक रुपमा नोक्सानी पुराएको बताउनुभयो ।
पञ्चकन्या ग्रुपका महाप्रवन्धक देबेन्द्र साहुले भैरहवा भन्सार कार्यालयले विभिन्न वाहानामा ढिलासुस्ती गर्दा बस्तुको उत्पादनमा लागत खर्च बढ्दो भएको बताउनुभयो । उहाँले भन्सार भित्रको पार्किङ, सर्वर र बैंकिङ प्रणालीमा देखिएका समस्या समाधानका लागि प्रमुख भन्सार अधिकृत समक्ष आग्रह गर्नुभयो ।
भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले यो भन्सार नाका सुकाउनका लागि विभिन्न बाहानामा समस्या पार्ने कार्य भैरहेको भन्दै यस्ता तत्वहरुको निवारण गर्नका लागि सवै एकजुट भएर लाग्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले ओभरलोडको नाम समस्या श्रृजना भएको भन्दै देशको अन्य नाकामा नभएको नियम यहाँ लागु गर्न खोज्दा यो भन्सारबाट हुने निकासी र पैठारीको कार्य अन्य भन्सार नाकामा सरेको बताउनुभयो ।
सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा पर्यटन व्यवसायी कैलास गुप्ताले भारतीय पर्यटकहरु आफ्नै सवारी साधन मार्फत नेपाल आउदा भन्सार सुविधाको नाममा भन्सार विन्दुमा देखिएको ढिलासुस्तीले समस्या पार्ने गरेको बताउनुभयो । उहाँले विश्व अहिले आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेष गर्दा पनि नेपालमा पुरानो प्रणालीको प्रयोग गर्दा पर्यटकले सीमा नाकामा नै दुःख पाउने गरेको जानाकारी दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष बिष्णु शर्मा, व्यवसायी हरिष सेठिया, लक्ष्मी स्टिलका प्रतिनिधि दामोदर पौडेलले मालवस्तु निकासी र पैठारीमा भन्सार कार्यालयमा देखिएको सफ्टवेयर तथा सर्भर र ढिलासुस्तीका विषयहरु प्रमुख भन्सार अधिकृतलाई जानाकारी गराएका थिए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यापार सहजीकरणका लागि भन्सार कार्यालयहरुले काम गर्ने गरेको बताउदै नेपालको भन्सार प्रशासन भारत र चिनको भन्सार प्रकृया भन्दा अगाडी रहेको बताउनुभयो ।
उहाँले भैरहवा भन्सार कार्यालयले सुधारका लागि यहाँहरु संग अन्तरक्रिया गरिएको बताउदै उद्योग व्यवसायीहरुले उठाएका जायज मागहरु तुरुन्त समाधानका लागि आफुले प्रयास गर्ने जानाकारी दिनुभयो ।
भन्सार प्रशासनले प्रयोग गर्ने आसीकोडा सफ्टवेयरको सर्वरमा महिले काहि देखिने समास्या प्राविधिक समस्या भएको भन्दै प्रमुख भन्सार अधिकृत रेग्मीले गेट इन्टर मोडेललाई समेल सुधार गरिने बताउनुभयो ।