logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ३१औं विश्व आदिवासी दिवस भव्यतासाथ सम्पन्न, अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश कार्यान्वयनको माग


    २५ साउन २०८२ , आइतबार

    ३१औं विश्व आदिवासी दिवस भव्यतासाथ सम्पन्न, अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश कार्यान्वयनको माग

    बिशन गुरूङ


    भैरहवा, साउन २५ । “प्राकृतिक स्रोत, जल, जमिन र जंगल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर (UNDRIP/ILO169) सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित ३१औं विश्व आदिवासी दिवस २०८२ भैरहवामा भव्यतापूर्वक सम्पन्न भएको छ। सिद्धार्थनगर नगरपालिका–१२, डाँडागाउँस्थित युनिक बैंक्वेट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा करिब तीन सय सहभागीको उपस्थिति रहेको थियो।

    कार्यक्रममा संघीय सभाका पूर्व सांसद तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान प्रमुख अतिथि रहनु भएको थियो। समितिका अध्यक्ष चन्द्रबहादुर रानामगरको अध्यक्षतामा, महिला उपाध्यक्ष सुकमाया गुरुङको स्वागत मन्तव्य र उपाध्यक्ष प्रेमबहादुर ल्होँ गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

    गुरुङ, मगर, किरात राई लिम्बु, नेवार र थारु समुदायका पुरुष तथा महिलाहरू परम्परागत पोशाकमा सजिएर सहभागी भए। उनीहरूले आफ्नो पोशाकको विशेषता र सांस्कृतिक महत्वको स्पष्टीकरण दिए। सांस्कृतिक नृत्य, लोकसंगीत र रंगीन दृश्यहरूले हलमा उत्साह र रमाइलोको वातावरण सिर्जना गर्यो।

    कार्यक्रममा अध्यक्ष रानामगरले विश्व आदिवासी दिवसलाई पहिचान, अधिकार र अस्तित्वको प्रतीकको रूपमा व्याख्या गर्दै सर्वोच्च अदालतको आदेश तत्काल कार्यान्वयन गर्न आग्रह गरे। उनले स्थानीय सरकारलाई बजेट, नीति र योजनामा आदिवासी जनजातिका कार्यक्रमलाई प्राथमिकतामा राख्न अनुरोध गरे। अन्य वक्ताहरूले पनि राजनीतिक नेतृत्वमा पहुँच बढाउन, मौलिक पहिरन र संस्कृतिको संरक्षण गर्न, र समुदायको एकतालाई सुदृढ बनाउन जोड दिए।

    जिल्ला न्यायधीश, सहायक प्रमुख जिल्ला अधिकारी र सिद्धार्थनगर नगरपालिकाका एक अधिकृतको अनुपस्थितिप्रति केही वक्ताले असन्तुष्टि जनाए। नगर प्रमुख खानले मौलिक पहिरनलाई केवल कार्यक्रममा मात्र नभई दैनिक जीवनमा पनि प्रयोग गर्न सुझाव दिए।

    कार्यक्रममा साहित्यकार, राजनितिज्ञ, समाजसेवी, पत्रकार लगायतको समेत उपस्थिति रहेको थियो, जसले दिवसको महत्व, समुदायको भूमिका र अधिकार सुनिश्चितताबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।

    कार्यक्रममा उपस्थित वक्ताहरूले नेपालमा ३४.८६ प्रतिशत जनसंख्या आदिवासी जनजातिको भए पनि राजनीतिक र सरकारी संरचनामा पर्याप्त प्रतिनिधित्व नभएको तथ्य प्रस्तुत गर्दै एकताबद्ध आन्दोलनको आवश्यकता औंल्याए। साथै, UNDRIP र ILO169 मा नेपालले हस्ताक्षर गरिसकेको भए पनि व्यवहारमा अधिकार सुनिश्चित नभएको भन्दै सबै तहका सरकारलाई कार्यान्वयनमा गम्भीर बन्न आह्वान गरियो।

    जिल्ला उपाध्यक्ष इन्द्रकुमार राईका अनुसार, यस दिवसको अवसरमा सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, सैनामैना र देशका अन्य पालिकाहरूमा पनि विभिन्न कार्यक्रमसहित दिवस मनाइएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.