logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    २३औं लिस्नु कप फुटबल : विजेताले पाउनेछ रु. ४ लाख ४ हजार ४ सय ४४


    ७ भाद्र २०८२ , शनिबार

    २३औं लिस्नु कप फुटबल : विजेताले पाउनेछ रु. ४ लाख ४ हजार ४ सय ४४

    बिशन गुरुङ


    भैरहवा, भाद्र ७ । यहि भदौ १४ गतेदेखि सुरु हुने २३औं लिस्नु कप फुटबल प्रतियोगिताको विजेताले रु. ४ लाख ४ हजार ४ सय ४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ। शुक्रबार मिडप्वाइन्ट डायमण्ड रिसोर्ट, पत्थर डाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक लिस्नु युवा क्लबले यसबारे जानकारी दिएको हो।

    बि.सं. २०३६ सालमा प्रेमकुमार गुरुङको अध्यक्षतामा स्थापना भई २०५७ सालमा आधिकारिक रूपमा दर्ता भएको यस क्लबले आफ्नो २५औं वर्ष प्रवेशको अवसरमा विभिन्न कार्यक्रमसहित प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता यशोदा फुड्स प्रा.लि. को मुख्य प्रायोजनमा र तिलोत्तमा नगरपालिका वडा नं. १५ को सहप्रायोजनमा सञ्चालन हुने भएको छ।

    प्रतियोगितामा १२ क्लबबीच ९–ए साइड नकआउट आधारमा प्रतिस्पर्धा हुनेछ। खेललाई समूह ‘क’ र ‘ख’ मा विभाजन गरिनेछ र खेल पिफाको नियमअनुसार सञ्चालन हुनेछन्। सबै खेल तिलोत्तमा–१५ को पशुपति माध्यमिक विद्यालय मैदानमा दैनिक दिउँसो ३:३० बजे हुनेछन्।

    प्रतियोगितामा सहभागी सबै खेलाडीलाई खेल अवधिभरका लागि प्रतिव्यक्ति रु. १ लाखको बीमा गरिएको क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिनुभयो।
    दर्शक प्रवेशका लागि क्वाटरफाइनलसम्म रु. १०० र फाइनल खेलमा रु. २०० तोकिएको छ। महिलालाई प्रि–क्वाटरफाइनलसम्म निःशुल्क र क्वाटरफाइनलदेखि फाइनलसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सहभागी क्लबहरुलाई भने प्रवेश शुल्क नलाग्नेछ।

    उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु. २ लाख २ हजार २ सय २२ प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र राइजिङ खेलाडीले जनही रु. १२ हजार ५ सयसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई रु. ५ हजार दिने व्यवस्था गरिएको छ भने प्रतियोगिताभर अनुशासित एक टोलीलाई आकर्षक ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताको अनुमानित बजेट रु. २९ लाख २१ हजार ६ सय ६६ रहेको क्लबले जनाएको छ।

    पत्रकार सम्मेलनको अवसरमा क्लबका अध्यक्ष तीर्थराज मल्लले आगामी प्रतियोगितामा सहभागी हुने खेलाडीहरूका लागि टिसर्ट सार्वजनिक गर्नुभएको थियो। टिसर्ट क्लबकै आर्थिक सहयोगमार्फत उपलब्ध गराइएको आयोजकले जनाएको छ।

    पत्रकार सम्मेलनमा प्रमुख अतिथि तिलोत्तमा–१५ का वडाध्यक्ष खेमराज पुन, क्लब अध्यक्ष तीर्थराज मल्ल, खेल संयोजक पदमबहादुर थापा (अशोक), आर्थिक संयोजक नेमबहादुर गुरुङ, नगरप्रमुखका स्वकीय सचिव अर्जुन क्षेत्री, वडा सचिव मानबहादुर खाती, विद्यालयका प्राचार्य वेदनारायण भट्टराईसहित स्थानीय जनप्रतिनिधि, खेलकर्मी र सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको समापन क्लबका अध्यक्ष तीर्थराज मल्लले गर्दै, प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण पक्षको सहयोगकाे अपेक्षा व्यक्त गर्नुभयो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.