logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गर : नेपाल कमर्शियल आर्टिष्ट संघ


    १६ भाद्र २०८२ , सोमबार

    राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गर : नेपाल कमर्शियल आर्टिष्ट संघ

    भैरहवा, भाद्र १६ । नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै त्यसको कडा विरोध गरेको छ। सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सम्बन्धित मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमार्फत सरकारले निर्णय तत्काल खारेज गर्नुपर्ने माग राखेको हो।

    संघले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको निर्णयले मौलिक देवनागरी लिपि मास्ने, आम जनतालाई आर्थिक भार थोपर्ने, रोजगारी खोस्ने र राष्ट्रिय पहिचानमाथि आघात गर्ने प्रष्ट आरोप लगाएको छ। करिब ६० लाख सवारी साधनमा प्रयोग हुँदै आएको देवनागरी लिपि हटाउने निर्णयलाई संघले प्रत्यक्ष राष्ट्रघाती षड्यन्त्रको संज्ञा दिएको छ।

    ज्ञापनपत्रमा करिब १ लाखभन्दा बढी श्रमिक र कलाकारहरू वैकल्पिक रोजगारीको व्यवस्था नगरी प्रविधिको नाममा ल्याइएका यस्ता निर्णयका कारण बेरोजगार हुने खतरा रहेको उल्लेख छ। साथै, बिचौलिया र दलालको प्रभावमा परी आम नागरिकलाई महँगो र झन्झटिलो प्रक्रियामार्फत आर्थिक भार थोपर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने चेतावनी दिइएको छ।

    जिल्ला कार्य समिति रुपन्देहीले सरकारलाई स्पष्ट चेतावनी दिँदै भनेको छ, “राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गरियोस्, मौलिक देवनागरी लिपि मेट्न पाइँदैन।” अध्यक्ष दिनेशमणि कोहारले जोड्दै भने, “हाम्रो पहिलो प्राथमिकता नेपाली पहिचान र स्वदेशी श्रमिकको रोजगारीको रक्षा गर्नु हो। प्रविधिको नाममा आम जनतालाई ठग्ने कुनै पनि कदम सह्य हुँदैन। यदि सरकारले निर्णय फिर्ता नगरे हामी सडकमा उत्रेर कडा आन्दोलन गर्नेछौं।”

    यसैबीच, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आर्टिष्ट संघको मागलाई जायज ठहर गर्दै सम्बन्धित निकायमा पठाइने र निर्णय खारेज गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    कार्यक्रममा संघका अध्यक्ष दिनेशमणि कोहार, केन्द्रीय सदस्य रबि घिमिरे, संस्थापक अध्यक्ष उज्ज्वलकुमार दे कायस्थ, उपाध्यक्ष मनोहर थापा, कोषाध्यक्ष गणेश घिमिरे, सल्लाहकारहरू दिपेन्द्र प्रधान र रामदास हरिजनको उपस्थिति रहेको थियो। कार्यक्रममा रूपन्देही जिल्लाका करिब ५०–६० जना आर्टिष्ट तथा कलाकारहरूको सहभागिता रहेको संघले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.