लुम्बिनीखबर
भैरहवा । महराजगञ्ज जिल्लाका पत्रकारहरूले लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलाई नेपालका सम्माननीय प्रधानमन्त्रीको नाममा एक ज्ञापनपत्र बुझाएका छन्। यो ज्ञापनपत्र नेपालमा हालै भएको जेनजी आन्दोलनको क्रममा भारतीय पत्रकारहरूमाथि काठमाडौंमा भएको कुटपिट र दुर्व्यवहारको घटनालाई लिएर बुझाइएको हो। भारतीय पत्रकारहरूले समाचार संकलनका क्रममा भएको यो घटनाका दोषीहरूको पहिचान गरी कारबाहीको माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले यो घटनाले नेपाल र भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने दृढता व्यक्त गरे। उनले भने, “केही व्यक्तिहरूको गलत कार्यले दुई देशबीचको गहिरो सम्बन्धमा दरार आउन सक्दैन। नेपालको जनताको भारतसँग गहिरो सद्भाव र मित्रता छ र यो सम्बन्ध सधैं बलियो रहनेछ।”
रायमाझीले आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाहरूको कडा निन्दा गर्दै यस्ता कार्यहरूले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सुरक्षामाथि गम्भीर प्रश्न उठ्ने बताए। उनले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई यस्ता घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न जोडदार आग्रह गरे।
प्रेस क्लब अफ महाराजगंज, भारतका अध्यक्ष अमित त्रिपाठीले कुनै पनि मुलुकमा पत्रकारहरूमाथि यस्तो अभद्र व्यवहार र दुर्व्यवहार हुन नहुने बताए। उनले भने, “कुनै पनि देशमा पत्रकारहरूमाथि हुने अभद्र व्यवहारका विरुद्ध नेपाल र भारत दुवै देशका पत्रकारहरू एकजुट हुन आवश्यक छ। यदि कुनै नेपाली पत्रकारलाई भारतमा समाचार संकलन गर्नुपरेमा र क्लबलाई अग्रिम जानकारी दिइएमा, हामी ती पत्रकारको सुरक्षा व्यवस्था मिलाउन पूर्णरूपमा तयार छौं।”
महराजगञ्जका पत्रकारहरूले यो घटनाले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर नपार्ने विश्वास व्यक्त गरे। उनीहरूले दुई देशबीचको सांस्कृतिक, सामाजिक र ऐतिहासिक सम्बन्धलाई जोड दिँदै यस्ता घटनाहरूलाई रोक्न दुवै पक्षबाट संयुक्त प्रयासको आवश्यकता रहेको औंल्याए।

लुम्बिनी प्रेस क्लबले यो ज्ञापनपत्रलाई सम्बन्धित निकायसम्म पुर्याउने र पत्रकारहरूको सुरक्षाको लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ। क्लबले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सम्मानको रक्षा गर्न निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
यो घटनाले नेपाल र भारत दुवै देशका पत्रकारहरूबीच एकताको सन्देश प्रवाह गरेको छ। दुवै पक्षले पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको लागि संयुक्त रूपमा काम गर्ने अपेक्षा गरिएको छ।