पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १६ कार्तिक । रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ५, गौरीस्थित ऐतिहासिक सतियामाई मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा रामलीला तथा सांस्कृतिक कार्यक्रमको भव्य उद्घाटन सम्पन्न भएको छ । यो कार्यक्रमसँगै मन्दिर परिसरमा रामलीला मेला तथा तराईको परम्परागत कुस्ती दंगल पनि सुरु भएको छ, जसले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

मेला व्यवस्थापन समितिका अनुसार, हरिबोधिनी एकादशीका दिनदेखि कार्तिक पूर्णिमासम्म चल्ने यो मेलामा रामलीलाको मञ्चनका साथै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश छन् । मेलाको मुख्य आकर्षणमध्ये एक कुस्ती दंगलले तराईको खेलकुद संस्कृतिलाई जीवन्त बनाउने छ । सतियामाई मन्दिरलाई चमत्कारिक तथा भक्तजनको आस्थाको केन्द्र मानिन्छ, जसले गर्दा प्रत्येक वर्ष यो मेलामा हजारौं श्रद्धालुको सहभागिता हुने गर्दछ ।
कार्यक्रमको प्रमुख अतिथि तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव ’सोनु’ ले मन्दिरको विकास, विस्तार, बाटो सुधार तथा सुन्दरीकरणमा पालिकाको प्राथमिकता रहेको बताउनुभयो । “स्थानीय तहको बजेटले भ्याएसम्म जनप्रतिनिधिहरूको सल्लाह–सुझावअनुसार सहयोग हुँदै आएको छ । यसबाहेक, केन्द्र तथा प्रदेश सरकारसँग पनि मन्दिरको विकासका लागि आवश्यक अग्रह गरिएको छ,“ उहाँले भन्नुभयो । अध्यक्ष यादवले यो मन्दिर गाउँपालिकाको नामाकरणको आधार बनेको स्मरण गर्दै यसको संरक्षण र प्रवद्र्धनमा सबैको सहकार्य आवश्यक रहेको जोड दिनुभयो ।
विशिष्ट अतिथि तथा उपाध्यक्ष सुनिता चौधरीले सतियामाई मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा थप व्यवस्थित बनाउने योजनामा पालिका केन्द्रित रहेको बताउनुभयो । “यो मन्दिरको ऐतिहासिक महत्व छ । हामी यसलाई पर्यटकीय हब बनाउन प्रयासरत छौं,“ उहाँले भन्नुभयो ।
यसैगरी, विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले पालिकामा आएदेखि मन्दिर व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै , “यो मन्दिरबाटै पालिकाको नामाकरण भएकोले यहाँ नभए पनि राज्यसँग पहल गरी विकासमा प्रतिबद्ध रहनेछु,“ भन्नुभयो । अधिकृत पन्थीले मन्दिरको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मेला व्यवस्थापन समिति अध्यक्ष देवानन्द चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मदनप्रसाद पोखरेलले सतियामाईको चमत्कारिक कथालाई श्रद्धालुहरूको आस्था र विश्वाससँग जोडेर चर्चा गर्नुभयो । गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका पोखरेलले मेलाले स्थानीय संस्कृति र खेलकुदलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
केसवप्रसाद यादवको स्वागत र पशुपति यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा दर्शक तथा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । यो मेलाले धार्मिक पर्यटनलाई थप गति दिने विश्वास गरिएको छ ।