लुम्बिनीखबर
सिद्धार्थनगर, ११ माघ। विश्व भन्सार दिवसको अवसरमा नेपाल भन्सार एजेन्ट संघले मानवसेवा आश्रमलाई वासिङ मेसिन हस्तान्तरण तथा भोजन दान गरेको छ।
नेपाल भन्सार एजेन्ट संघ तथा भैरहवा भन्सार कार्यालयको संयुक्त आयोजनामा वासिङ मेसिन हस्तान्तरण तथा भोजन दान गरेको हो।
मानवसेवा आश्रमले असहाय, असक्त, बेवारिसे तथा मानसिक समस्या भएका व्यक्तिहरूको सेवा गर्दै आएको छ। आश्रममा दैनिक सरसफाइ तथा लुगा धुने कार्य निकै चुनौतीपूर्ण रहने भएकाले वासिङ मेसिनले सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विश्व भन्सार दिवसले भन्सार क्षेत्रको भूमिका मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि जोड दिन्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ। नेपाल भन्सार एजेन्ट संघले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस हस्तान्तरणले आश्रमका सेवाग्राहीहरूको जीवनस्तर सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ।
मानवसेवा आश्रममा एकदमै आवश्यक देखिएको वासिङ मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले भने, “मानवसेवा आश्रमले समाजको सबैभन्दा कमजोर वर्गको सेवा गर्दै आएको छ। हाम्रो संघले विश्व भन्सार दिवसको अवसरमा यस्तो सानो तर प्रभावकारी सहयोग गर्न पाउँदा गर्व लागेको छ।
भन्सार क्षेत्रले व्यापार मात्र होइन, सामाजिक कल्याणमा पनि योगदान दिनुपर्छ भन्ने मान्यताका साथ यो कार्य गरेका हौं। भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौं।” उनले आश्रमको कार्यप्रति प्रशंसा गर्दै थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गरे।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले कार्यक्रममा भने, “मानवसेवा आश्रम जस्ता संस्थाले समाजमा ठूलो योगदान पुर्याइरहेका छन्। हामी भन्सारका कर्मचारी तथा एजेन्टहरूले व्यापारिक कार्य मात्र नभई सामाजिक सेवामा पनि संलग्न हुनु आवश्यक छ। विश्व भन्सार दिवसको सन्दर्भमा यो वासिङ मेसिन हस्तान्तरणले आश्रमका सेवाग्राहीहरूको दैनिकी सहज बनाउनेछ। यो सहयोगले उनीहरूको सम्मानजनक जीवनमा टेवा पुग्नेछ। भन्सार कार्यालयले पनि यस्ता सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउने छ।”
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले भने, “मानवसेवा आश्रमले समाजको सबैभन्दा पीडित तथा असहाय वर्गको सेवा गर्दै आएको छ, जसले हामीलाई सबैलाई प्रेरित गर्छ। विश्व भन्सार दिवसको यो अवसरमा नेपाल भन्सार एजेन्ट संघ र भन्सार कार्यालयले गरेको यो वासिङ मेसिन हस्तान्तरण निकै सराहनीय छ। यो मेसिनले समय बचत गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनेछ।
कार्यक्रम नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा उक्त वासिङ मेसिन हस्तान्तरण तथा भोजन दान गरिएको हो।