लुम्बिनीखबर
लुम्बिनी, फागुन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी वातावरण तीव्र रूपमा तातिरहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार लुम्बिनी आउँदै छन्।
प्रचण्डको यो भ्रमणले क्षेत्र नम्बर ५ को चुनावी माहोललाई झन् तिखो बनाउने अपेक्षा गरिएको छ। पार्टी स्रोतका अनुसार उहाँ फागुन १६ गते हेलिकप्टरमार्फत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित सिबगडिया (शिवगढिया) चोकमा आयोजना हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्न आउनुहुनेछ।
यो सभा नेकपा रुपन्देही क्षेत्र नम्बर ५ का प्रत्यक्षतर्फका उम्मेदवार मोहम्मद वकिल मुसलमानको चुनावी अभियानलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको हो। चुनाव प्रचार प्रसार संयोजक रोमनाथ न्यौपानेका अनुसार वकिल मुसलमानको सक्रियताले क्षेत्रमा चुनावी उत्साह बढेको छ र सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने बताइएको छ। लुम्बिनी क्षेत्रमा हुने यो ठूलो सभाले मतदातामा थप उत्साह जगाउने र चुनावी समीकरणमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।
रुपन्देही–५ लाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिएको छ। शीर्ष नेतृत्वको प्रत्यक्ष उपस्थितिले मतदातालाई प्रभावित पार्ने र दलको पक्षमा मत परिचालन गर्न ठूलो सहयोग पुग्ने अपेक्षा छ। प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना रणनीति अघि बढाइरहेका बेला प्रचण्डको यो लुम्बिनी भ्रमणलाई विशेष अर्थपूर्ण ठानिएको छ।
यो क्षेत्रमा नेकपाका उम्मेदवार मुसलमानले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेका छन् भने अन्य दलका उम्मेदवारहरू पनि आफ्नो अभियानमा व्यस्त छन्। प्रचण्डको सभापछि चुनावी माहोल झन् तीव्र हुने देखिन्छ।