लुम्बिनीखबर
तौलिहवा, चैत्र १० । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगञ्ज नगरपालिका वडा नं. २ को वर्गदा क्षेत्रमा भएको घटनालाई मध्यनजर गर्दै जारी गरेको निषेधाज्ञा आदेश आज विहान ९ बजेदेखि हटाएको छ ।
जिल्ला सुरक्षा समितिको मिति २०८२ चैत्र १० गतेको निर्णयअनुसार शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको र नागरिकको दैनिक जीवनयापन सहज बनाउनका लागि निषेधाज्ञा हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे ले जानकारी दिनुभयो ।
प्रशासनले जारी गरेको सूचनाअनुसार, मिति २०८२ चैत्र ७ गते दिउँसो २ बजेदेखि र चैत्र ८ गते दिउँसो १ बजेदेखि जिल्लाका विभिन्न क्षेत्रमा तोकिएको निषेधाज्ञा आजदेखि पूर्ण रूपमा खुला गरिएको हो ।
वर्गदा क्षेत्रमा भएको धार्मिक विवाद र झडपपछि तनाव बढेका कारण निषेधाज्ञा जारी गरिएको थियो । अवस्था सामान्यीकरण भएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् ।
जिल्ला प्रशासनले सम्बन्धित सबैलाई सूचना पालना गर्न र शान्ति व्यवस्था कायम राख्न अनुरोध गरेको छ ।
