लुम्बिनीखबर
सिद्धार्थनगर, १ जेठ । सिद्धार्थनगर नगरपालिका–१२, रुपन्देहीस्थित काशी नोवल एकेडेमी ले कक्षा ११ मा कोरियन भाषा विषय सञ्चालन गर्ने घोषणा गरेको छ। विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा यसै शैक्षिक सत्रदेखि कोरियन भाषा अध्ययन सुरु गरिने जानकारी दिएको हो।
रुपन्देही जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित विद्यालयले नेपालमै पहिलो पटक विद्यालय तहमा कोरियन भाषा पढाइलाई व्यवस्थित रूपमा अगाडि बढाएको जनाएको छ। विद्यालयका सहायक प्रधानाध्यापक श्री रायमाझीका अनुसार पछिल्लो समय दक्षिण कोरियाको तीव्र आर्थिक विकास, प्रविधि तथा विश्वस्तरमा बढ्दो प्रभावका कारण कोरियन भाषा र शिक्षाप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ।
उनले कोरियामा वृद्ध जनसंख्या बढ्दै जानु, जन्मदर घट्नु तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई उच्च शिक्षा र छात्रवृत्तिमा अवसर विस्तार भइरहेकाले नेपाली विद्यार्थीका लागि कोरियन भाषा भविष्य निर्माणको महत्वपूर्ण माध्यम बन्न सक्ने बताए। भाषा सिकेपछि कोरियामा उच्च शिक्षा हासिल गर्न सहज हुने उद्देश्यले विद्यालयले पाठ्यक्रममै कोरियन विषय समावेश गरेको उनको भनाइ छ।
विद्यालयमा विषय विशेषज्ञका रूपमा सूर्यबहादुर गुरुङ कार्यरत रहेका छन्। विद्यालयका अनुसार कोरियामा अध्ययनपछि विद्यार्थीले हासिल गरेको प्राविधिक ज्ञान, सीप र अनुभव स्वदेशमै प्रयोग गरी उद्यम तथा रोजगारी सिर्जना गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको हो।
नेपालको राष्ट्रिय पाठ्यक्रमअनुसार नेपाली, अंग्रेजी, सामाजिक र गणित अनिवार्य विषय भए पनि विद्यालयले विभिन्न विषयसँगै चार वटा ऐच्छिक विषय सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत अब कोरियन भाषा पनि समावेश गरिएको छ। कक्षा ९ र १० मा ऐच्छिक रूपमा सञ्चालन हुँदै आएको कोरियन भाषा अब कक्षा ११ मा समेत पढाइ हुने भएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरेका अनुसार कक्षा १० को एसईई परीक्षामा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीले कक्षा ११ मा कोरियन भाषा रोज्न सक्नेछन्। साथै, कोरियन भाषा अध्ययन बिहानको समयमा सञ्चालन गरिने उनले जानकारी दिए।
वि।सं। २०५२ सालमा स्थापना भएको विद्यालय ३३ जना विद्यार्थीबाट सुरु भएको थियो। २०६३ सालमा पहिलो पटक ६ जना विद्यार्थीले एसएलसी परीक्षा दिएका थिए भने २०८२ सालको एसईई परीक्षामा १०८ जना विद्यार्थी सहभागी भएका थिए। विद्यालय २०६९ सालमा आफ्नै भवनमा सञ्चालनमा आएको हो भने २०७४ सालदेखि कक्षा ११ सञ्चालन हुँदै आएको छ।
हाल विद्यालयमा कक्षा १० सम्म १४३० जना तथा कक्षा ११ र १२ मा १८५ जना गरी कुल १६१५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ८६ जना शिक्षक र २६ जना कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक घिमिरेले जानकारी दिए। विद्यालयले २०७९ सालमा कक्षा १२ तर्फ जिल्लामै प्रथम हुने विद्यार्थी उत्पादन गर्न सफल भएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर रायमाझीले कक्षा ९ देखि १२ सम्म कोरियन भाषा अध्ययन गरेपछि विद्यार्थीलाई कोरियामा उच्च शिक्षा, छात्रवृत्ति तथा प्राविधिक अध्ययनका अवसर सहज हुने विश्वास व्यक्त गरे। उनले विदेशमा हासिल गरेको सीप र ज्ञानलाई स्वदेशमै सदुपयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको बताए।