अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, जेठ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वास (खानेपानी, सरसफाइ तथा स्वच्छता) शाखाको आयोजनामा टोल विकास संस्थाका पदाधिकारीहरूलाई लक्षित गरी “खानेपानी, सरसफाइ तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम” मधुवनी सिएलसीमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा वडा नं. ९ र वडा नं. १० अन्तर्गतका विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय तहमा सुरक्षित खानेपानीको पहुँच विस्तार, सरसफाइ व्यवस्थापन र संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
कार्यक्रमका अध्यक्ष तथा वास शाखा प्रमुख शेषराम यादवले समुदायस्तरमा सरसफाइ र सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न टोल विकास संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले स्थानीय बासिन्दाको सक्रिय सहभागिताबाट मात्र स्वस्थ र सफा समाज निर्माण सम्भव हुने बताए ।
प्रमुख अतिथि वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष तुलसा शर्माले टोल विकास संस्थाहरू स्थानीय समुदायको विकासमा अग्रपंक्तिमा रहेको उल्लेख गर्दै यस्ता तालिमले जनचेतना अभिवृद्धिसँगै नेतृत्व क्षमता विकासमा सकारात्मक प्रभाव पार्ने बताइन् । वडा नं. ९ का वडा सदस्यले पनि सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन सबै पक्षबाट सहकार्य आवश्यक रहेको बताए ।
तालिमका प्रशिक्षक ओम प्रकाश वनियाले खानेपानीको सुरक्षित प्रयोग, सरसफाइका आधारभूत अभ्यास, फोहोर व्यवस्थापन, व्यक्तिगत स्वच्छता र समुदायस्तरमा जनचेतना फैलाउने विषयमा सहजीकरण गरेका थिए । उनले टोल विकास संस्थाका पदाधिकारीहरूलाई आफ्नो क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्न र समुदायलाई जागरूक बनाउन आग्रह गरे । साथै, टोल विकास संस्थालाई औपचारिक रूपमा दर्ता गर्न अनिवार्य रहेको बताए ।
कार्यक्रममा दुवै वडाका टोल विकास समिति पदाधिकारीहरू, समाजसेवी, स्थानीय बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणको उपस्थिति थियो । सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।