पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, असार। ओमसतिया गाउँपालिकाले आज एक विशेष कार्यक्रम आयोजना गरी प्रशासनिक भवनको शिलान्यास तथा भूमिपूजन कार्य सम्पन्न गरेको छ।
पण्डित पुरोहितबाट विधिपूर्वक पूजा-अर्चना गरी पालिका अध्यक्ष मन्जित कुमार यादवले शिलान्यास गर्नुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भूकम्प प्रतिरोधक र आधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण हुने बताउनुभयो।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, वडा नम्बर ५ का वडाअध्यक्ष, पालिका प्रवक्ता मदनप्रसाद पोखरेल, वडा नं ४ का वडाअध्यक्ष अखिलेश्वर पाण्डे, वडा नं १ का वडाअध्यक्ष बेल बराल, वडा नं २ का वडाअध्यक्ष शीतल जिटी, वडा नं ६ का वडाअध्यक्ष शिवकुमार धवल, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
पालिकाका वरिष्ठ इन्जिनियर सुनिल आचार्यका अनुसार उक्त प्रशासनिक भवन ६ करोड २७ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ। २०८४ असार ८ गतेसम्म (१८ महिनाभित्र) निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको छ। आचार्यले बदलिँदो समयअनुसार सुविधासम्पन्न र नागरिकमैत्री भवन बन्ने बताउनुभयो।
यो शिलान्याससँगै ओमसतिया गाउँपालिकाको प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम चालिएको स्थानीयले बताएका छन्।