logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भारकोटमा जोगिँदै परम्परागत मौरीपालन


    १५ असार २०८३ , सोमबार

    भारकोटमा जोगिँदै परम्परागत मौरीपालन

    बिशन गुरुङ। लुम्बिनीखबर 

    स्याङ्जा। पुतलीबजार नगरपालिका–७ भारकोटका गुरुङ र मगर बस्तीमा परम्परागत मौरीपालन अहिले पनि स्थानीय जीवनशैलीको महत्वपूर्ण हिस्सा बनेको छ। पुस्तौंदेखि चल्दै आएको यो अभ्यासले गाउँलेहरूलाई शुद्ध मह उपलब्ध गराउनुका साथै आम्दानीको भरपर्दो स्रोतसमेत प्रदान गरेको छ।

    स्थानीय मौरीपालकहरूका अनुसार वर्षायामको तुलनामा हिउँदमा उत्पादन हुने मह बढी स्वादिलो, सुगन्धित र गुणस्तरीय हुने गर्दछ। मौसम तथा फूलको उपलब्धताअनुसार तीनदेखि छ महिनाको अवधिमा एक घारबाट दुईदेखि पाँच किलोसम्म मह उत्पादन हुने गरेको छ। अनुकूल वातावरण भएमा तीन महिनामै मह काट्न सकिने भए पनि कतिपय अवस्थामा छ महिनासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ।

    मौरीहरूले कोदो, मकै, तोरी, पैँयु लगायतका विभिन्न फूलबाट रस संकलन गरी मह उत्पादन गर्छन्। गाउँलेहरूका अनुसार रसको खोजीमा मौरीहरू तीन किलोमिटरसम्म टाढा पुग्ने र आवश्यक परे रातभर बाहिर बसेर पुनः आफ्नो घारमा फर्किने गर्दछन्।

    यहाँ प्रयोग हुने परम्परागत मौरीघार सुकेको रुखको करिब तीन फिट लामो मुडा खोक्रो बनाएर तयार गरिन्छ। घारको दुवै छेउ ढुङ्गा र माटोले बन्द गरिएको हुन्छ भने बीच भागमा करिब एकदेखि डेढ इन्चको प्वाल बनाइन्छ। यही प्वालबाट मौरीहरू बाहिर जाने र रस संकलनपछि घारमा फर्किने गर्दछन्।

    स्थानीय समुदायमा मौरीको जीवनशैलीबारे रोचक विश्वासहरू पनि प्रचलित छन्। घारको सुरक्षाका लागि दुईवटा मौरी सधैँ प्रवेशद्वारमा तैनाथ रहने तथा विषादीयुक्त फूलको रस बोकेर आएका मौरीलाई घारभित्र प्रवेश गर्न नदिने जनविश्वास रहेको छ।

    मौरीहरूको संसारमा रानी मौरीको विशेष भूमिका रहने भए पनि मह उत्पादन, घारको व्यवस्थापन र अन्य अधिकांश काम पोथी अर्थात् कामदार मौरीहरूले गर्ने गर्दछन्। आवश्यकताभन्दा बढी भाले मौरी भएमा कामदार मौरीहरूले उनीहरूलाई घारबाट हटाउने विश्वाससमेत स्थानीयहरूमा रहेको छ।

    स्थानीयहरूका अनुसार मौरीपालन केवल मह उत्पादनको माध्यम मात्र होइन, प्रकृतिसँगको सहअस्तित्व, अनुशासन, सहकार्य र जिम्मेवारीको जीवन्त उदाहरण पनि हो। सानो जीव मौरीले सिकाउने एकता र परिश्रमको पाठ मानव समाजका लागि समेत प्रेरणादायी बनेको छ।

    परम्परागत ज्ञान, स्थानीय सीप र प्रकृतिप्रतिको सम्मानमा आधारित भारकोटको मौरीपालन संस्कृति आज पनि गाउँको पहिचान र गर्वको विषय बनेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.