लुम्बिनीखबर
भैरहवा, २६ असार । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिल्ला वर्षहरूमा केवल धार्मिक तीर्थस्थलका रूपमा मात्र नभई विश्वस्तरको आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। बुद्धले देखाएको शान्ति, करुणा र अहिंसाको मार्गलाई आत्मसात् गर्न संसारका विभिन्न देशबाट हजारौँ साधक लुम्बिनी पुग्ने गरेका छन्। विशेषगरी विपश्यना ध्यान केन्द्रहरूले लुम्बिनीलाई आध्यात्मिक अभ्यास र मानसिक शान्तिको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा नयाँ पहिचान दिलाइरहेका छन्।
लुम्बिनीमा सञ्चालित धम्म जननी विपश्यना केन्द्र र पण्डिताराम लुम्बिनी जस्ता संस्थामा नेपालसहित एशिया, युरोप, अमेरिका तथा अन्य मुलुकबाट साधकहरू नियमित रूपमा ध्यान शिविरमा सहभागी हुने गरेका छन्। दसदिने विपश्यना साधनादेखि दीर्घकालीन ध्यान अभ्याससम्मका कार्यक्रम सञ्चालन हुने यी केन्द्रले लुम्बिनीको पर्यटनलाई धार्मिक भ्रमणबाट आध्यात्मिक अनुभूतितर्फ विस्तार गरिरहेका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बुद्धको ज्ञान आजको तनावग्रस्त विश्वका लागि अझ सान्दर्भिक बन्दै गएको बताउनुभयो। उहाँका अनुसार ध्यान र आत्मअनुशासनले मात्र मानिसलाई स्थायी शान्ति दिन सक्छ।
“विश्वमा हिंसा, द्वन्द्व र मानसिक तनाव बढिरहेका बेला बुद्धको ध्यान, करुणा र मध्यम मार्गले मात्रै मानवतालाई सही दिशा दिन सक्छ,” उहाँले भन्नुभयो। “लुम्बिनीलाई केवल घुम्ने ठाउँ होइन, शान्ति सिक्ने विश्व विद्यालयका रूपमा विकास गर्नुपर्छ।”
लुम्बिनी आउने विभिन्न देशका भिक्षुहरूले पनि मानिसको अशान्तिको मूल कारण लोभ, मोह, रिस र द्वेष भएको बताउने गरेका छन्। उनीहरूका अनुसार पञ्चशीलको पालना गर्ने, हत्या, चोरी, झुट, दुव्र्यसन र अनैतिक आचरणबाट टाढा रहने व्यक्तिको जीवन स्वाभाविक रूपमा तनावमुक्त हुन्छ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी हरी राईले लुम्बिनीलाई विश्वको आध्यात्मिक राजधानीका रूपमा विकास गर्ने लक्ष्यअनुसार विभिन्न कार्यक्रम अघि बढिरहेको बताउनुभयो।
“लुम्बिनी बुद्ध जन्मिएको स्थान मात्र होइन, विश्व शान्तिको सन्देश प्रवाह गर्ने भूमि हो,” उहाँले भन्नुभयो। “यहाँ आउने प्रत्येक व्यक्तिले केही समय ध्यान, साधना र आत्मचिन्तनमा बिताउन सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।”
ध्यान साधनाको अभ्यास गर्दै आएका सञ्चारकर्मी रुबिना थापाले आधुनिक जीवनशैलीले मानिसलाई भौतिक रूपमा सम्पन्न बनाए पनि मानसिक रूपमा अस्थिर बनाएको बताउनुहुन्छ।
“साँचो खुसी बाहिर होइन, आफ्नै मनभित्र हुन्छ,” उहाँले भन्नुभयो। “ध्यानले मानिसलाई आफूलाई चिन्न, तनाव घटाउन र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत गर्छ। त्यसैले लुम्बिनी भ्रमणसँगै ध्यान अभ्यासलाई पनि जोड्नुपर्छ।”
लुम्बिनीमा प्रत्येक वर्ष झन्डै १५ लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने तथ्याङ्क भए पनि अधिकांश पर्यटक केही घण्टा मात्रै बसेर फर्किने गरेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार पर्यटकको बसाइ अवधि बढाउन ध्यान, योग, बौद्ध अध्ययन, सांस्कृतिक अनुभव र आध्यात्मिक कार्यक्रमलाई एकीकृत रूपमा विकास गर्न आवश्यक छ।
विशेषज्ञहरूका अनुसार लुम्बिनीमा विपश्यना, योग, बौद्ध दर्शन अध्ययन, अन्तर्राष्ट्रिय सम्मेलन तथा शान्ति संवादजस्ता गतिविधिलाई व्यवस्थित रूपमा विस्तार गर्न सकिए यहाँ आउने पर्यटकको बसाइ लम्बिने मात्र होइन, लुम्बिनी विश्वकै प्रमुख आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने सम्भावना अझ बलियो हुनेछ।
बुद्धले करिब २६ सय वर्षअघि दिएको शान्ति, करुणा र अहिंसाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ। त्यसैले लुम्बिनी अब केवल बुद्ध जन्मिएको ऐतिहासिक स्थलमा सीमित नरही मानव सभ्यतालाई आन्तरिक शान्ति र सहअस्तित्वको बाटो देखाउने विश्वव्यापी आध्यात्मिक केन्द्रका रूपमा विकसित हुँदै गएको सरोकारवालाको विश्वास छ।