लुम्बिनीखबर
भैरहवा, ४ साउन । चोरी तस्करी लगायतका नाकामा बिद्यमान विभिन्न चुनौती र समस्याका बाबजुद मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा राजश्व संकलन १ खर्ब नघाएको छ ।
भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा कुल १ खर्ब ५ अर्ब २ करोड रुपैयाँ राजश्व संकलन गरेको हो । यो संकलन भैरहवा भन्सारले पाएको वार्षिक लक्ष्यको ९२ दशमलव ४ प्रतिशत हो । भन्सार कार्यालयका अनुसार उक्त आवमा १ खर्ब १३ अर्ब ६७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो ।
भैरहवा भन्सारको अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को तुलनामा गत आवमा राजश्व संकलन १३ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष कार्यालयले ९२ अर्ब ३१ करोड रुपैयाँ राजश्व उठाएको थियो ।
भैरहवा नाकामा व्यहोर्नुपरेका स्थलगत समस्याका बीच पनि यो परिणाम आउनुलाई भन्सार प्रशासनले ठूलो उपलब्धिको रूपमा लिएको छ । ‘भैरहवा नाकामा अत्याधिक हुने जाम र ओभरलोड जरीवाना लगायतका समस्याका कारण यसको विकल्प खोज्दै कैयन् मालवाहक गाडीहरूले नाका नै परिवर्तन गरेका थिए’ भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले नाकाका चुनौतीबारे बताउँदै भने, ‘यस्ता समस्या र चुनौतीका बावजुद पनि १ खर्बभन्दा बढी राजश्व संकलन हुनुलाई समग्रमा राम्रो मान्नुपर्छ ।’
भैरहवा भन्सारको राजश्व संकलनमा सबैभन्दा ठूलो हिस्सा अटोमोवाइल्स (सवारी साधन) को आयातले ओगटेको छ । कुल राजश्वमा अटोमोवाइल्स क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ । दोस्रो ठूलो योगदान फलामे छडको कच्चा पदार्थ (स्पन्ज आइरन) लगायतका फलामजन्य सामग्रीको छ । जसले करिब १३ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रो स्थानमा रहेको पेट्रोलियम पदार्थको आयातबाट करिब ८ प्रतिशत राजश्व संकलन भएको प्रमुख पौडेलले जानकारी दिए ।
आव २०८२÷०८३ मा भन्सार विभागले देशभरबाट कुल ५ खर्ब ८८ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको थियो । जसमा वीरगञ्जपछिको दोस्रो ठूलो भैरहवा भन्सारलाई मात्रै कुल राष्ट्रिय लक्ष्यको १९ दशमलव ३ प्रतिशतकोे जिम्मेवारी सुम्पिएको थियो ।
चालु आव २०८३–०८४ मा भन्सार बिभागले मुलुकभरबाट ६ खर्ब २८ अर्व रुपैयाँ रजश्व संकलनको लक्ष्य राखेको छ । जसअनूरुप, भैरहवा भन्सार कार्यालयलाई १ खर्ब २२ अर्व रुपैयाँ संकलनको जिम्मेवारी दिइएको छ । यो विभागको कुल लक्ष्यमध्ये भैरहवा भन्सारका लागि १९ दशमलव ४ प्रतिशत हो ।