लुम्बिनीखबर
भैरहवा ११ साउन । भैरहवा भन्सार कार्यालयमा भारतीय बिचौलियाको बिगबिगीका कारण केही कर्मचारीले लामो समयदेखि अनधिकृत आर्थिक लाभ लिँदै आएको आरोप पुनः चर्चामा आएको छ। नेपाल भन्सार एजेन्ट महासङ्घ र भन्सार विभागबीचको सहमतिअनुसार अनधिकृत व्यक्तिलाई भन्सार परिसरभित्र प्रवेशमा रोक लगाएपछि त्यस्ता गतिविधिबाट हुने आम्दानी बन्द भएको भन्दै केही कर्मचारी असन्तुष्ट देखिएका छन्।
स्रोतका अनुसार भारतीय एजेन्टमार्फत आर्थिक लाभ लिँदै आएका केही कर्मचारीले अनधिकृत व्यक्तिलाई पुनः भन्सारभित्र काम गर्न दिनुपर्ने पक्षमा दबाब सिर्जना गर्न थालेका छन्। नेपाली भन्सार एजेन्टमार्फत मात्र काम गर्दा आफूहरूले पहिलेजस्तो आर्थिक लाभ लिन नसकेको उनीहरूको गुनासो रहेको बताइन्छ।
यस्तै, भन्सारसँग सम्बन्धित सेवा व्यवस्थापन गर्ने ठेकेदार कम्पनीका केही प्रतिनिधिसमेत भारतीय बिचौलियालाई पुनः काम गर्न दिनुपर्ने पक्षमा देखिएको आरोप छ। यसले भन्सार प्रशासनभित्र पारदर्शिता, सुशासन र कानुनी व्यवस्थामाथि नै प्रश्न उठाएको छ।
भन्सार परिसरमा अनधिकृत व्यक्तिको प्रवेश रोक्ने निर्णय कार्यान्वयन भएपछि वैधानिक रूपमा दर्ता भएका नेपाली भन्सार एजेन्टले राहत महसुस गरेका छन्। उनीहरूका अनुसार भन्सारसम्बन्धी सम्पूर्ण काम कानुनी रूपमा अनुमति प्राप्त एजेन्टमार्फत मात्र हुनुपर्छ र अनधिकृत बिचौलियाको प्रवेशले राजस्व प्रशासनलाई कमजोर बनाउने तथा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने जोखिम रहन्छ।
यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी कर्मचारी र बिचौलियाबीचको सम्भावित साँठगाँठको स्पष्ट पार्नुपर्ने माग सरोकारवालाले गरेका छन्।
भैरहवा भन्सार कार्यालयका केही कर्मचारीले विगतमा भारतीय दलाल तथा बिचौलियामार्फत अकुत आर्थिक लाभ लिने गरेको आरोप रहँदै आएको छ। भन्सार प्रमुख हरियर पौडेल आएपछि त्यस्ता गतिविधिमा केही नियन्त्रण भएको र भारतीय बिचौलियाको प्रवेशसमेत सीमित गरिएको बताइन्छ। तर पछिल्लो समय केही कर्मचारीले भन्सार प्रमुखमाथि नै दबाब सिर्जना गर्ने प्रयास गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार केही कर्मचारीले “हामी यहाँ काम गर्न मात्र होइन, केही कमाउन पनि आएका हौँ, यसरी रोक लगाउनु हुँदैन” भन्ने आशयका कुरा भन्सार प्रमुखसमक्ष राख्ने गरेको बुझिएको छ। यस्तै, भारतस्थित केही दलाल तथा बिचौलियाले पनि विभिन्न माध्यमबाट भन्सार प्रशासनलाई प्रभावमा पार्ने प्रयास गरिरहेको आरोप छ। उनीहरूको उद्देश्य पुनः अनधिकृत गतिविधि सञ्चालन गरी अवैध आर्थिक लाभ लिने वातावरण बनाउनु रहेको एक कर्मचारीले बताए।
भैरहवा भन्सार कार्यालय लामो समयदेखि भारतीय दलाल, बिचौलिया र केही कर्मचारीबीचको मिलेमतोको आरोपका कारण विवादमा पर्दै आएको छ। यदि भारतीय दलाल तथा बिचौलियाको गतिविधि प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएमा राज्यको राजस्वमा ठूलो क्षति पुग्ने र भन्सार प्रशासनको विश्वसनीयतामाथि थप प्रश्न उठ्ने देखिन्छ।
विशेषगरी, केही भारतीय नागरिक नेपाली भन्सार एजेन्टका प्रतिनिधिको नाममा भन्सार परिसरमा प्रवेश गरी काम गर्ने गरेको आरोप छ। यस्तै, केही नेपाली भन्सार एजेन्टले केवल हस्ताक्षर उपलब्ध गराउने तर आफैँ कार्यालयमा उपस्थित नहुने प्रवृत्तिका कारण भारतीय ट्रान्सपोर्ट कम्पनीसँग आबद्ध व्यक्तिहरूले एजेन्टको प्रतिनिधि बनेर काम गरिरहेका छन्। यसबाट केही कर्मचारीलाई अनियमितता गर्न सहज भएको आरोपसमेत लाग्ने गरेको छ।
यस प्रकारका गतिविधिमाथि सम्बन्धित निकायले प्रभावकारी निगरानी, निष्पक्ष छानबिन र कडाइका साथ नियन्त्रण गर्न आवश्यक देखिन्छ। अन्यथा नेपाली भन्सार एजेन्टको व्यवसाय थप प्रभावित हुने, राज्यले ठूलो राजस्व गुमाउने तथा भन्सार प्रशासनप्रतिको जनविश्वास कमजोर हुने जोखिम रहने सरोकारवालाहरूको भनाइ छ।