लुम्बिनीखबर
भैरहवा,१९ साउन । होटल संघ नेपाल (शान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठनका लागि साउन २२ गते बुटवलमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।
लुम्बिनी प्रदेशको पर्यटन सम्पदाको संरक्षण, नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवर्द्धनसँगै होटल तथा पर्यटन व्यवसायीको हकहित संरक्षण गर्ने उद्देश्यले तदर्थ समिति गठन गर्न लागिएको होटल संघ नेपाल (हान) ले जनाएको छ।
संघका अनुसार कार्यक्रम साउन २२ गते अपराह्न ४ बजे बुटवलस्थित क्लब डेनोभोमा आयोजना हुनेछ। कार्यक्रममा लुम्बिनी प्रदेशभरका होटल व्यवसायी, पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्व तथा सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ।
होटल संघ नेपाल (हान) का लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठ ले प्रदेशस्तरमा संगठन विस्तार गर्दै होटल तथा पर्यटन व्यवसायीलाई एकीकृत गर्ने उद्देश्यले तदर्थ समिति गठन गर्न लागिएको जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदेशको पर्यटन प्रवर्द्धन, व्यवसायीका साझा समस्या समाधान, नीतिगत पैरवी तथा निजी क्षेत्रबीच समन्वय सुदृढ बनाउन तदर्थ समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी भई तदर्थ समिति गठनलाई सफल बनाउन होटल तथा पर्यटन व्यवसायीलाई संघले आग्रह गरेको छ।