
औद्योगिक घराना मारवाडी परिवारका नवआगुन्तुक उर्जाशील युवा उद्यमी रौनक अग्रवाल आधुनिक, नयाँ सोच र योजना भएका उद्यमी हुन । यस क्षेत्रमा सवैभन्दा कान्छा उद्यमी समेत रहेका रौनक आर्थिक र औद्योगिक क्षेत्रको व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेका बौद्धिक युवा सर्कलमा समेत पर्दछन् ।
अष्ट्रलियाको मेलवर्नमा रहेको बाल्लारट विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक गरेका उनले भारतको पुने स्थित स्याम्बायोसीस इन्टरनेसनल विश्वविद्यालय वाट व्यवस्थापन संकायको (एमबिए) सप्लाई चेन विषयमा स्नाकोत्तर गरेका छन् । सन १९९० फेवरवरी ८ तारिखका दिन भैरहवामा बुवा उद्योगपती क्रषिकेश अग्रवाल र आमा समाजसेवी संगीता अग्रवालको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रौनक लगनशील र धैर्यवान युवा व्यवसायीको रुपमा समेत परिचित रहेका छन् ।
औद्योगिक विकासका साथ साथै समाज विकासमा समेत काम गर्न चाहाने यि युवा प्रतिष्ठित समाजसेवी नथुमल अग्रवाल र गिनिया देवि अग्रवालका पनाती समेत हुन । पारिवारीक व्यवसायीक घरानाबाट परम्परागत रुपमा सञ्चालन रहेका उद्योगहरुलाई आधुनिककरण गर्ने प्रयासमा रहेका यि युवा उद्यमी रौनक बिक्रम सम्वत २०७१ साल देखी आफ्ना उद्योग क्षेत्रको निरिक्षणमा तल्लिन देखिन्छन् ।
पारिवारिक घरानाबाट सञ्चालनमा रहेको नेपाल अम्बुजा सिमेन्ट उद्योगको निर्देशक समेत रहेका यीनै व्यवसायी रौनक अग्रवालसँग लुम्बिनीखबर अनलाईनका लागी कमल रायमाझीले लिएको अन्तरवार्ताको सारसंक्षेप ।
यहाँले आफ्नो घरानाबाट सञ्चालित रहेका उद्योगहरु सञ्चालनको जिम्मेवार लिँदै गर्दा नयाँ भिजनहरु केके बनाउनुभएको छ ?
मैले आफ्नो अध्ययन पुरा गरेपछि पारिवारिक घरानाबाट सञ्चालनमा रहेका उद्योगहरुको विक्रम सम्वत २०७१ साल देखी जिम्मेवारी लिने प्रयास गरिरहेको छु । सुरुका चरणमा मैले आफुले अध्यायन गरेको सिद्धान्तको आधारमा उद्योगहरुको निरिक्षण गरि यसको राम्रो पक्ष र सुर्धानुपर्ने पक्षहरुको समिक्षा गरिरहेको छु । दोस्रो कुरा हाम्रो उद्योगहरुको उत्पादन, उपभोग,विनिमय र वितरण पक्षलाई समेत अध्यायनको दायरामा ल्याएको छु ।
बजार, उपभोक्ता पहिचान गर्ने प्रयास समेत अहिलेको मिसनमा परेको छ । उत्पादन भएको वस्तुको गुणस्तरियता र स्थायित्वको लागी समेत आफ्नो व्यवस्थापन सुधारमा अहिलेको समय परिचालन गरेको छु । यसको राम्रो पक्षलाई निरन्तरता र सुर्धानुपर्ने पक्षलाई सुधारेर आधुनिकतामा हाम्रा उद्योगहरु प्रवेश गराउने मेरो उद्देश्य हो ।
बजारको आवश्यकता अनुसार अगाडी बढ्ने क्रममा नयाँ उद्योगहरु समेत सञ्चालनमा ल्याउने योजनाहरुमा लागिएको छ ।
अब केही समय पछि नै हामीले यसक्षेत्रमा नयाँ उद्योगहरु बजारको माग अनुसार स्थापना गर्ने अन्तिम स्थितिमा पुगेका छौँ । बालाजी सिमेन्ट उद्योग, बालाजी स्टिल उद्योग कपिलवस्तुमा तत्काल सञ्चालनमा आउने छन् भने । जस्तापाताको उद्योग, पाइप उद्योग स्थापनाका लागी अध्ययन अनुसन्धान भैरहेको छ ।
पहिला उत्पादन गरी बजार समेत बनाईसकेका हाम्रा सिमेन्ट उद्योगहरुका लागी कच्चा पर्दाथ उत्पादन गर्ने क्लिङकर उद्योगको स्थापना गर्ने गृहकार्यमा हाम्रो व्यवसायी घराना अगाडी बढिरहेको छ ।
नयाँ जोश, योजना र उच्च अध्यायन गरेको यहाँ जस्तो युवा उद्यमीबाट बजार र उपभोक्ताले के अपेक्षा गर्न आवश्यक छ ?
–हो यहाँले, सही प्रश्न गर्नुभयो । हामी जस्ता उच्च अध्ययन गरेर औद्योगिक क्षेत्रमा प्रवेश गर्ने युवाहरुबाट बजार र उपभोक्ताले नयाँ चिज पाउनै पर्दछ । जुन परम्परागत रुपमा उत्पादन भएको भन्दा भिन्न होस् । व्यक्तिगत अध्ययनको कुरा गर्ने हो भने मैले सप्लाई चेन विषयमा स्नाकोत्तर तह अध्ययन गरेको छु ।
जुन विषय प्राइमरी सोर्स देखी प्रोडक्सन, लजिष्टिक, मार्केट र कन्जुमर सम्म पुग्ने एउटा रसी हो । यसमा वस्तु उत्पादनमा लागत कम कसरी बनाउने र वस्तुको गुणस्तरीयता कसरी कायम गर्ने समेत मुख्य रुपमा पर्दछ ।
हामीले कच्चा पदार्थ जुटाउने र उत्पादन गर्ने काम गर्दा कहाँ कमजोरी छ या बजार सम्म उत्पादन भएको वस्तु पठाउँदा के समस्या भयो । यी कुराहरुको अध्यायन सुक्ष्म रुपमा गरिने भएकाले सानातिना कमजोरीहरु हटाउने र उपभोक्ताले उच्च गुणस्तरियताका वस्तुहरु पाउने ग्यारेन्टी मैले गरेको अध्ययनले गर्दछ ।
उपभोक्ताको सुविधा र बजारको मागलाई समेत राम्ररी अध्ययन गरी वस्तु उत्पादनमा ध्यान दिने काम हामीबाट सुरु भएको छ । अब हाम्रा उत्पादनहरु उपभोक्ताको चाहाना अनुसार बजार सम्म पुग्ने वातावरण समेत हामीले तयार गरिरहेका छौँ । हाम्रो मिसन समयको माग अनुसार परिमार्जित हुदै आधुनिकतामा प्रवेश गर्नु हो ।
आफ्ना परम्परागत रुपमा चलेका उद्योगहरुलाई यहाँले कसरी नयाँपन र आधुनिकता दिनुहुन्छ ?
–पराम्परागत रुपमा चलेका हाम्रा उद्योगहरुलाई आधुनिकतामा परिमार्जन गर्न निकै कठिन विषय रहेको छ । पुरानो सोचलाई तुरुन्तै परिवर्तन गर्न नसकिने भए पछि मैले विभिन्न किसिमका तरिकाहरु कर्मचारी तालिम, कम्प्युटर प्रणालीमा काम, बजार व्यवस्थापनमा नयाँपन जस्ता कुराहरु सञ्चालनमा ल्याएको छु ।
जसले सिस्टमको विकास गरेको छ । जहाँ पनि नयाँ चिज लागू गर्न अप्ठयारो हुन्छ । निरन्तरत प्रयास गरे सम्भव रहेकाले मैलै दैनिक जसो आधुनिकतालाई अंगिकार गर्ने परिपाटीको विकास गराउने प्रयासरत छु । जसमा मेरा अग्रजहरुले समेत साथ दिनुभएको छ । कर्मचारी र बजारलाई समेत यसरी नै नयाँपन र आधुनिकतामा बदल्ने हाम्रो योजना अगाडी बढेको छ ।
यहाँ जस्तो उच्च अध्ययन गरेको सर्घषशील युवा उद्यमीले उत्पादन र बजार क्षेत्रमा नयाँ आयाम के दिन सक्नुहुन्छ ?
–हामीले उत्पादन र बजारको विषयमा पढेको सिद्धान्तका आधारमा नयाँ आयाम दिने प्रयास गर्ने हो । हामीले मुख्यतया उपभोक्ताको माग अनुसार उत्पादनहरु गर्ने भएकाले हाम्रो पहिलो प्राथामिकता उपभोक्ता हुन जान्छ ।
बजार माग अनुसार हाम्रा उत्पादनहरु हुनेछन् । जसमा मुख्य गुणस्तरियतालाई ध्यान दिने भएकाले पनि उपभोक्ताहरु माझ हामी परम्परागत रुपमा नभएर आधुनिकता र समयको माग अनुसार अगाडी बढ्ने छौँ ।
उत्पादन भएको वस्तु प्रयोगमा समेत हामी उपभोक्ता माझ हुनेछौँ । उपभोक्तालाई हामीले जनचेतनामूलक कार्यक्रमहरु र पर्चा पम्प्लेटिङ गरि वस्तु प्रयोगमा जानाकारी गराइने छ । अबको हाम्रो योजना भनेको नै बस्तु प्रयोगमा उपभोक्तालाई जानकारी गराउने हो । जो अवको समयको नयाँ आयाम हुने छ ।
–प्रसंग बदलौ, नेपालको औद्योगिक विकासमा राज्यले कस्तो शिक्षा नी िल्याउन आवश्यक रहेको छ ?
–नेपालको औद्योगिक क्षेत्रमा मुख्य समस्या भनेको नै प्राविधिक समस्या हो । चर्को मुल्यमा यहाँका उद्योगहरुले भारतबाट प्राविधिक ल्याउनु परेको छ । युवा रोजगार बढाउन र औद्योगिक क्षेत्रमा नेपाली युवाहरुको प्रवेश गराउने हो भने सरकारले पहिलो प्राथमिकता प्राविधिक शिक्षामा दिनुपर्दछ । सहजरुपमा प्राविधिक शिक्षा सञ्चालन र व्यवसायी शिक्षा नीति सरकारले ल्याउनु पर्दछ । हाम्रा उद्योगहरुमा प्लम्बिङ, इलेक्ट्रिक, केमिष्ट्रिक, मेकानिकल अपरेटरहरुको ठुलो अभाव छ ।
लोडर र जेसिबी जस्ता ठुला सवारी साधनका चालकहरु समेत तालिम प्राप्त छैनन् ।
प्राविधिकि उत्पादनमा राज्यले विश्वविद्यालयहरु नै स्थापना गरेमा नेपाली युवाहरुले विदेसिने क्रममा समेत कमी आउने छ । सरकारले ल्याउने शिक्षा नीति मुख्यतया प्राविधिक र दक्ष हुनुपर्दछ ।
औद्योगिक विकासमा राज्यले के गर्न आवश्यक देख्नुहुन्छ ?
–नेपालमा अहिले सरकारले नीति नियम बनाए पनि यहाँ जनस्तरबाट र सरकारी तहबाट धेरै समस्याहरु मैले देखेको छु । राज्यको एउटा पक्षले उद्योग सञ्चालन गर्न अनुमति दिन्छ । अर्को पक्षले बन्द गर भन्छ । जनस्तरमा समेत उद्योगका विषयमा लिएर विभिन्न आन्दोलनहरु हुने गरेका उदाहरणहरु नेपालमा छन् ।
कर्मचारी युनियनहरुको आन्दोलनबाट समेत ठुला उद्योगहरु बन्द भएका छन् । सरकारले औद्योगिक क्षेत्रको विकास गर्न चाहने हो भने पहिलो कुरा लगानीकर्ताको लगानी सुरक्षाको प्रत्याभूति हुन आवश्यक रहेको छ । विशेष आर्थिक क्षेत्रको सञ्चालन गर्ने प्रचार गरेपनि सञ्चालनमा ढिलाई भएको छ । यस्ता विषयमा राज्यको सबै तह सजग भएर लाग्न आवश्यक छ ।
सवैक्षेत्रमा यातायातको पहुँच, कच्चा पदार्थ आपूर्तिमा सहजता, विद्युतमा निरन्तरता, दक्ष प्राविधिक उत्पादनमा जोड, उद्योग नीतिमा सरलता जस्ता कुरामा राज्यको उच्च तहमा बसेकाहरुले ध्यान दिनुपर्दछ ।
नीजिक्षेत्रले औद्योगिक विकासमा कस्तो भूमिका खेल्न सक्दछ ?
–नेपालमा अहिलेको परिस्थिति हेर्ने हो भने नीजि क्षेत्रले जति औद्योगिक विकास गरेको छ । सरकारी तहबाट हुन सकेको छैन । व्यक्तिको गास, बास, कपासको ग्यारेन्टी समेत नीजिक्षेत्र बाट सञ्चालनमा आएका उद्योगहरुले श्रृजना गरेको रोजगारबाट सम्भव भएको छ । उद्योग, कृषि र शिक्षा क्षेत्रमा नीजि क्षेत्रले ठुलो फड्को मारेको छ ।
जसका कारण लाखौँले रोजगार पाएका छन् । भने हजारौँले प्राविधिक शिक्षा प्राप्त गरेका छन् । बिना प्रतिस्पर्धा कुनै कुराको पनि विकास कम हुने भएकाले प्रतिस्पर्धा बिनाका नेपालको पेट्रोलियम पदार्थ र विद्युतीय विकास हुन सकेको छैन । सरकारी तहमा प्रतिस्पर्धाको नीति निर्माण गरेर नेपालमा सबै तहलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको छ ।
यहाँ व्यवस्थापन संकायको विद्यार्थी भएको नाताले नेपालले आर्थिक विकास गर्नका लागी कसरी अगाडी बढ्न आवश्यक देख्नुहुन्छ ?
–आर्थिक विकासका लागी सरकारी तहबाटै प्रगतिशील आर्थिक नीति आउन आवश्यक छ । युवा पिँढीमा नयाँ र उर्जाशील सोच हुन पर्दछ । नयाँ सोच र योजनाका साथमा राज्यले युवापिँढीलाई परिचालन गरेमा आर्थिक विकासमा फड्को मार्न समय नै लाग्दैन ।
प्राविधिक शिक्षाको विकास, विश्व टेक्नोलोजीको प्रयोग, औद्योगिककरणको विविधतामा ध्यान दिएर सरकार अगाडी पर्दछ । आज जापान, दक्षिण कोरिया, मलेशिया जस्ता देशहरुले यीनै कुराहरु प्रयोगमा ल्याउनाले आर्थिक फड्को मारेका छन् । नेपालले पनि यी देशहरुलाई पछ्याउन सक्दछ ।
यहाँ प्रतिष्ठित समाजसेवी नथुमल अग्रवाल र गिनियादेवी अग्रवालको पनाती हुनुहुन्छ । समाजसेवीको पनाती भएको नाताले यहाँको समाजिक क्षेत्रमा कस्तो भूमिका रहन्छ ?
–हाम्रो परिवार पहिले देखि नै समाज विकासमा क्रियाशिल परिवार हो । समाज विकासका लागी अग्रजहरुले देखाएको बाटोमा हामी सँधै सचेत छौँ । हामीले वार्षिक रुपमा विभिन्न सामाजिक क्षेत्रमा लगानी गरिरहेका छौ । स्कुल कलेज, खेलकुद, धार्मिक क्षेत्र र सञ्चार क्षेत्रमा समेत हाम्रो सहयोग निरन्तर रहेको छ ।
मैले यी सबैको निरन्तताका साथै नयाँ सोचका साथ व्यवसायी र प्राविधिक शिक्षा सञ्चालन गर्ने कलेज स्थापना गर्ने योजना बनाएको छु । शैक्षिक व्यक्तित्वहरुको समूह र सही नेतृत्व गर्नहरु पाएको खण्डमा रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा समेत हाम्रो लगानी हुनेछ । जुन मेरा जिजु बुबा र मुमाले गर्नु भएको थियो ।