लुम्बिनीखबर
रुपन्देही, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले रु ११ लाख ५१ हजार सहयोग गर्ने भएको छ।
संघको बिहिवार बसेको कार्यसमिति बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको संघको सूचना शाखाले जनाएको छ।संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विपद्का समयमा सरकारलाई निजी क्षेत्रको साथ र सहयोग आवश्यक हुने भएकाले उद्योगी–व्यवसायीको एकमतबाट संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो।
“सरकारलाई अप्ठ्यारो परेको बेला निजी क्षेत्रले सहयोग गर्न जरुरी छ। देशमा संकट आइपर्दा उद्योगी–व्यवसायी एकजुट भएर राज्यलाई साथ दिनुपर्छ,” उहाँले भन्नुभयो।संघका महासचिव कृष्णप्रसाद घिमिरेले देशमा संकट पर्दा निजी क्षेत्र काँध थाप्न सधैँ तयार रहेको बताउँदै अहिलेको विपद्मा पनि मानवीय दायित्वका रूपमा सहयोग गर्न लागिएको बताउनुभयो।
उहाँका अनुसार संघले विगतमा पनि भूकम्प, बाढी, पहिरो तथा नाकाबन्दीजस्ता विपद्का समयमा राज्य तथा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको छ।
संघका कार्यलय प्रमुख कमला बस्नेतले सिद्धार्थ उद्योग वाणिज्य संघ सधैँ जनताको साथमा रहेर सामाजिक तथा मानवीय कार्यमा सक्रिय हुँदै आएको बताउनुभयो।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही नेपालको पुरानो उद्योग वाणिज्य संस्थामध्ये एक हो। संघले व्यावसायिक हकहितसँगै विपद् तथा सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको जनाएको छ।