लुम्बिनीखबर
भैरहवा, १५ भदौ । नेपाल–भारत सीमास्थित सुनौलीमा भारतीय पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकले नेपालमा हालै आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति दीप प्रज्वलन गरेका छन्।महाराजगञ्ज प्रेस क्लबको आयोजनामा आइतबार राति सुनौली सीमा क्षेत्रमा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना गर्दै शोकश्रद्धाञ्जली अर्पण गरिएको थियो भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
कार्यक्रममा भारतीय पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकको सहभागिता थियो। सहभागीले विपद्मा परी उद्धारको पर्खाइमा रहेका नागरिकको तत्काल उद्धार तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन नेपाल, भारत र चीन सरकारबीच समन्वयात्मक पहल आवश्यक रहेको बताएका थिए । महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष तथा जी न्युज भारतका वरिष्ठ संवाददाता अमित त्रिपाठीले नेपाल आफ्नो नजिकको छिमेकी भएकाले नेपालमा आएको विपद्ले भारतीय नागरिकलाई समेत दुःखी बनाएको बताउनुभयो। उहाँले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।“नेपालमा भएको दुःखले हामी भारतीयलाई पनि पीडा दिएको छ। यो कठिन घडीमा भारतका नागरिक नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा छन्,” उहाँले भन्नुभयो।
त्रिपाठीले उद्धारको पर्खाइमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा ल्याउन नेपाल सरकार, भारत सरकार र चीन सरकारबीच आवश्यक समन्वय गरी संयुक्त रूपमा उद्धार तथा राहत अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो।कार्यक्रममा दैनिक भास्करका संवाददाता सुरेश त्रिपाठीले नेपाल र भारतबीच सदियौँदेखिको आत्मीय तथा भाइचाराको सम्बन्ध रहेको उल्लेख गर्दै एक देशमा आउने विपद्को पीडा अर्को देशका नागरिकले समेत महसुस गर्ने बताउनुभयो।“नेपाल र भारतको सम्बन्ध केवल दुई देशबीचको सम्बन्ध मात्र होइन, यो जनस्तरमा जोडिएको भाइचाराको सम्बन्ध हो। भारतमा कुनै समस्या पर्दा नेपाली दुःखी हुन्छन् र नेपालमा विपद् आउँदा भारतीय नागरिक पनि दुःखी हुन्छन्,” उहाँले भन्नुभयो।
उहाँले नेपालमा आएको विपद्को यो कठिन समयमा प्रत्येक भारतीय नागरिकले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिँदै प्रभावित नेपालीको साथमा उभिन अपिल गर्नुभयो । नेपालमा विगतमा गएको भूकम्प तथा कोभिड–१९ महामारीका समयमा भारतले सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले अहिले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा समेत भारत सरकार तथा भारतीय नागरिकबाट आवश्यक सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो।
भारतीय पत्रकार सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध सदियौँ पुरानो र रोटी–बेटीको सम्बन्धमा आधारित रहेको बताउँदै नेपालको दुःखलाई भारतले आफ्नै दुःखका रूपमा लिने धारणा व्यक्त गर्नुभयो। उहाँले विपद्को समयमा दुई देशका नागरिकबीचको मानवीय सम्बन्ध अझ बलियो बनाउनुपर्ने बताउनुभयो। सुनौलीमा गरिएको दीप प्रज्वलनमार्फत भारतीय पत्रकार तथा नागरिक समाजले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विपद्को समयमा छिमेकीको साथ र सहयोग निरन्तर रहने सन्देश दिएका छन्।