लुम्बिनीखबर
भैरहवा, १६ भदौ । सिद्धार्थनगर नगरपालिकाभित्र इ–रिक्सा तथा टेम्पो व्यवस्थापनमा समस्या देखिएको छ। नगरपालिकाले इ–रिक्सा व्यवस्थापनको जिम्मेवारी पाए पनि प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसकेको भन्दै व्यवसायी तथा चालकहरूले गुनासो गरेका छन्।इ–रिक्सा चालक संघ रुपन्देहीका अनुसार नगरपालिकाले इ–रिक्सा दर्ता गर्ने र वार्षिक कर लिने गरे पनि त्यसको व्यवस्थापन तथा नियमनमा पर्याप्त ध्यान दिएको छैन। संघका अनुसार नगरपालिकामा हाल ४ सयभन्दा बढी इ–रिक्सा दर्ता भएका छन्। नगरपालिकाले वार्षिक २ हजार रुपैयाँ कर लिने गरेको छ भने दर्ता शुल्कसमेत लिने गरेको व्यवसायीहरूको भनाइ छ।
तर, नगरपालिकामा दर्ता नभएका ठूलो संख्याका इ–रिक्सा पनि सिद्धार्थनगर क्षेत्रमा सञ्चालन भइरहेको चालकहरूको आरोप छ। कतिपय इ–रिक्सा परमिटबिनै सञ्चालनमा रहेको, चालकसँग लाइसेन्स नभएको तथा सवारी दर्ता कागजातसमेत नभएको उनीहरूको गुनासो छ।इ–रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष शरणकुमार हरिजनले नगरभित्र इ–रिक्सा सञ्चालनमा व्यापक अव्यवस्था रहेको बताउनुभयो। उहाँले नगरपालिकामा दर्ता नभएका इ–रिक्सा तथा आवश्यक कागजात र लाइसेन्सबिनै सञ्चालन हुने सवारीको नियमनमा नगरपालिका र ट्राफिक प्रहरीले चासो दिनुपर्ने बताउनुभयो।
अटो रिक्सा सञ्चालक तथा चालकहरूले पनि नगरपालिकाको ध्यानाकर्षण गराउँदै अटो तथा इ–रिक्सा व्यवस्थापनका लागि प्रभावकारी नीति बनाउन आग्रह गरेका छन्। नगरपालिकाले व्यवस्थापनमा चासो नदिँदा व्यवसाय नै धरापमा परेको उनीहरूको भनाइ छ। इ–रिक्सा चालक संघका सदस्य नीरस शाहीले व्यवस्थापन गर्न नसकेको भन्दै नगरपालिकाप्रति आक्रोश व्यक्त गर्नुभयो ।
अटो रिक्सा व्यवसायी लोकबहादुर केसीले नगरपालिकाको व्यवस्थापन पक्ष कमजोर हुँदा व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको बताउनुभयो। उहाँले अटो तथा इ–रिक्सा सञ्चालनमा देखिएका समस्या समाधानका लागि नगरपालिका गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।यता, सिद्धार्थनगर नगरपालिकाको राजस्व प्रशासन शाखा प्रमुख कमलकान्त खनालले नगरपालिकामा करिब ४ सय इ–रिक्सा दर्ता भएको जानकारी दिनुभयो। उहाँका अनुसार १८८ वटा इ–रिक्सा दर्ता प्रक्रियामा रहेका छन् भने नयाँ दर्ताका लागि १५९ वटा आवेदन परेको छ।
खनालले इ–रिक्सा व्यवस्थापनका लागि नगरपालिका आवश्यक प्रक्रिया अघि बढाइरहेको बताउनुभयो। नगरपालिकाले दर्ता, कर तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ।