logo
  • २३ भाद्र २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क पढाउने लुम्बिनी बौद्ध विश्वविद्यालयको निर्णय


    २३ भाद्र २०८३ , मंगलबार

    बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क पढाउने लुम्बिनी बौद्ध विश्वविद्यालयको निर्णय

    लुम्बिनीखबर
    भैरहवा, २३ भदौ । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले निःशुल्क पढाउने भएको छ । बाढीका कारण घरविहीन वा अभिभावकविहीन भएका विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विश्वविद्यालयले शैक्षिक शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । यो सुविधा विश्वविद्यालयमा हाल अध्ययनरत विद्यार्थीका साथै शैक्षिक सत्र २०८३ देखि २०८५ सम्म स्नातक तथा स्नातकोत्तर तहमा नयाँ भर्ना हुने प्रभावित विद्यार्थीलाई समेत उपलब्ध हुनेछ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा। मणिकरत्न शाक्यले विपद्को समयमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन विश्वविद्यालयले विशेष व्यवस्था गरेको बताउनुभयो । उहाँले सम्बन्धित विद्यार्थीलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्नु विश्वविद्यालयको सामाजिक दायित्व भएको बताउनुभयो । विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले बाढीबाट घरविहीन वा अभिभावकविहीन भएको सम्बन्धित स्थानीय तहबाट प्रमाणित भएका विद्यार्थीलाई शतप्रतिशत शैक्षिक शुल्क छुट दिइने जानकारी दिनुभयो । उक्त सुविधा विश्वविद्यालयका आंगिक क्याम्पस तथा स्कुलमा समेत लागू हुने उहाँले बताउनुभयो ।

    विश्वविद्यालयका सूचना अधिकारी एवं सहायक निर्देशक चुरामणि पोखरेलले बाढीमा परी ज्यान गुमाएकाको चिरशान्तिको कामनासहित राष्ट्रिय शोकका दिन विश्वविद्यालयको स्तुपा परिसरमा भिक्षु, भिक्षुणी, लामा तथा आनीहरूबाट परित्राण तथा दुर्गति परिशोधन सूत्र पाठ र दीप प्रज्वलन गरिएको जानकारी दिनुभयो । यसैबीच, बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

    कार्यकारी परिषद्को निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको दुई दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन, सहायक प्राध्यापक, सहायक निर्देशक, उपप्राध्यापक वा सोसरहका शिक्षक तथा कर्मचारीको सात दिन र सहप्राध्यापक, प्राध्यापक, क्याम्पस प्रमुख, निर्देशक, परीक्षा नियन्त्रक, डिन तथा रजिस्ट्रारको १० दिन बराबरको पारिश्रमिक कट्टा गरिनेछ । उपकुलपतिको १५ दिन बराबरको पारिश्रमिकसमेत कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ ।

    विश्वविद्यालयले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । विश्वविद्यालयले हाल ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.