logo
  • २५ भाद्र २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै विश्व शान्ति पूजा


    २५ भाद्र २०८३ , बिहिबार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै विश्व शान्ति पूजा

    लुम्बिनीखबर
    भैरहवा, २५ भदौ । विश्व शान्ति धाम लुम्बिनीको आयोजनामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ज्यान गुमाएका व्यक्तिको चिरशान्तिको कामना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तीनदिने विश्व शान्ति पूजा आयोजना हुने भएको छ।

    विश्व शान्ति धाम लुम्बिनीका प्रमुख गुरु परमपूजनीय क्याब्जे श्याल्पा रिन्पोछेको मार्गदर्शनमा भोटेकोशी बाढीको २१औँ पुण्यतिथिका अवसरमा बौद्ध स्तूपा परिसरमा छेबा मार्मे मोन्लाम पूजा, दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना आयोजना गर्न लागिएको हो।

    यही भदौ २९ देखि ३१ गतेसम्म बिहान ७ः३० देखि १०ः०० बजेसम्म हुने कार्यक्रममा बाढी तथा विपद्मा ज्यान गुमाएका व्यक्तिको चित्तको मुक्ति, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा नेपालसहित विश्वभर शान्तिको कामना गरिने विश्व शान्ति धाम लुम्बिनीले जनाएको छ।

    विश्व शान्ति धाम लुम्बिनीका सेवक मधु रायमाझीले भगवान् गौतम बुद्धले विश्वलाई दिएको शान्ति, अहिंसा र करुणाको सन्देशलाई अगाडि बढाउँदै विपद्मा ज्यान गुमाएकाको चिरशान्तिको कामना र घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार विश्व शान्तिका लागि निरन्तर आध्यात्मिक तथा सामाजिक अभियानमा सक्रिय श्याल्पा रिन्पोछेको मार्गदर्शनमा नेपाललाई विश्व शान्तिको सन्देश प्रवाह गर्ने केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रम हुँदै आएका छन्। लुम्बिनीमा विश्व शान्ति धामले शान्ति र अहिंसाका लागि संसारभर अभियान संचालन गरिरहेको छ ।

    श्याल्पा रिन्पोछेले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिको चिरशान्ति तथा प्रभावित परिवारमा शान्ति र धैर्य प्राप्त होस् भन्ने कामनासहित सामूहिक प्रार्थना र पुण्यकार्य गर्न लागिएको बताउनुभएको छ। उहाँले बुद्धको शान्ति र अहिंसाको सन्देशलाई विश्वभर फैलाउन यस्ता आध्यात्मिक गतिविधि महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको छ।

    कार्यक्रममा बौद्ध धर्मावलम्बी, स्थानीयवासी, विभिन्न संघसंस्था तथा श्रद्धालुको सहभागिता रहनेछ। कार्यक्रममा विभिन्न बौद्ध, सामाजिक तथा सामुदायिक संस्थाले सहयोग गर्ने जनाइएको छ।

    बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौँ महानगरपालिका–६ वडा कार्यालय, बौद्ध तामाङ कल्याण गुठी, ओम तामाङ सुखदुःख सेवा गुठी, छ्योर्तेन टासी तामाङ गुम्बा, नेपाल बौद्ध शान्ति समाज, नेपाल बोन बुद्धिस्ट महासङ्घ, विश्व बुद्धिस्ट मञ्च नेपाल, नेपाल तामाङ घेदुङ, रसुवा तथा अन्य संघसंस्थाले कार्यक्रममा सहयोग गर्ने जनाइएको छ।

    विश्व शान्ति धाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको चिरशान्ति, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा विपद्बाट प्रभावित परिवारको सुख, शान्ति र कल्याणको कामना गर्दै कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.