logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीमा मृत्यु भएकाको पहिचानका लागि सूक्ष्म रूपमा डिएनए परीक्षण गर्दै नेपाल प्रहरी


    २५ भाद्र २०८३ , बिहिबार

    भोटेकोशी बाढीमा मृत्यु भएकाको पहिचानका लागि सूक्ष्म रूपमा डिएनए परीक्षण गर्दै नेपाल प्रहरी

    लुम्बिनीखबर

    भैरहवा , २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिएको छ। शव पहिचानका क्रममा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक फोरेन्सिक विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो।

    नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट संकलन भई प्राप्त भएका डिएनए नमुनाको परीक्षण गरिरहेको छ। नमुना संकलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार तथा शव पहिचान कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो।

    प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तबाट संकलित नमुना प्राप्त हुने क्रम जारी छ। “बाढी प्रभावित क्षेत्रबाट संकलित मृतकका नमुना र आफन्तबाट संकलित नमुना आउने क्रम जारी छ। संकलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

    प्रयोगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट संकलित ३४८ वटा नमुना र ८४ वटा मृतकका औँलाछापसम्बन्धी नमुना गरी जम्मा १ हजार २४० वटा नमुना डिएनए तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्राप्त भएको प्रहरीले जनाएको छ।

    हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन्। पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका १ हजार २८६ तथा आफन्तका १ हजार ४१२ गरी कुल २ हजार ६७८ वटा डिएनए नमुना संकलन गरिएको छ।

    मृतकबाट संकलित नमुनामध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासी पूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ वटा नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। यसैगरी नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० जना मृतकका आफन्तको नमुना संकलन गरिएको छ। अन्य जिल्लाबाट समेत नमुना संकलन गर्ने कार्यलाई तीव्रता दिइएको छ।

    डिएनए प्रोफाइलिङ कुनै व्यक्तिको पहिचान पुष्टि गर्नुका साथै व्यक्तिहरूबीचको जैविक सम्बन्ध स्थापित गर्न प्रभावकारी वैज्ञानिक विधिका रूपमा प्रयोग हुँदै आएको छ। भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि पनि डिएनए प्रोफाइलिङलाई विस्तार गरिएको प्रहरीले जनाएको छ। बाढीमा फेला परेका शव तथा शरीरका अंगको पहिचान गर्न मृतकको नमुना र सम्भावित आफन्तको नमुनाबीच वैज्ञानिक तुलना गरी पहिचान यकिन गर्ने प्रक्रिया अघि बढाइएको छ।

    यस कार्यको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन तथा निगरानी गरिरहनुभएको छ। उहाँले शव पहिचान तथा डिएनए परीक्षणसँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई सूक्ष्म रूपमा अध्ययन गरी वैज्ञानिक विधि र मापदण्डअनुसार काम गर्न निर्देशन दिनुभएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले पनि डिएनए नमुना संकलन, सुरक्षित भण्डारण र परीक्षण प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.