लुम्बिनीखबर
लुम्बिनी, २५ भदौ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट नुवाकोट पुगेर बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। लुम्बिनीको शान्ति, अहिंसा र करुणाको सन्देशलाई आत्मसात् गर्दै रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ पडिरियाका स्थानीयवासी राहत तथा स्वयंसेवी सेवाका लागि नुवाकोट पुगेका हुन्।
वडा अध्यक्ष अकरामुद्दीन नाउको नेतृत्वमा लुम्बिनीबाट गएको टोली तथा स्थानीय संस्था शाही युवा शक्तिका पदाधिकारीले नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर खाद्यान्नलगायत आवश्यक राहत सामग्री वितरण गरेका हुन्। टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारीसमेत लिएको छ।

वडा अध्यक्ष नाउले विपद्का बेला मानवीय सहयोग नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै प्रभावित परिवारको पीडामा लुम्बिनी सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारको पुनःस्थापना र पुनर्निर्माणका लागि समेत आवश्यक सहयोग गर्न लुम्बिनीका स्थानीयवासी तयार रहेको बताउनुभयो।
“बुद्धको जन्मस्थल लुम्बिनीले संसारलाई शान्ति, अहिंसा, करुणा र मानवताको सन्देश दिँदै आएको छ। विपद्को यस्तो कठिन समयमा पीडितको दुःखमा साथ दिनु त्यही मानवीय भावनाको निरन्तरता हो,” उहाँले भन्नुभयो।
लुम्बिनीका स्थानीयवासीले बाढीबाट घरबार गुमाएका तथा विस्थापित परिवारलाई आवश्यक परे आश्रय उपलब्ध गराउनसमेत आफूहरू तयार रहेको बताएका छन्। लुम्बिनीले विपद्मा परेका नागरिकलाई राहत र उद्धारमा सहयोग गर्नुका साथै आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणका कार्यमा समेत सहकार्य गर्ने उनीहरूको भनाइ छ।

शाही युवा शक्तिका पदाधिकारी तथा स्वयंसेवकहरूको सहभागिताले राहत वितरणलाई व्यवस्थित बनाउन सहयोग पुगेको थियो। बुद्ध जन्मस्थल लुम्बिनीबाट नुवाकोट पुगेर गरिएको सहयोगले विपद्का बेला क्षेत्रीय सीमाभन्दा माथि उठेर मानवीय एकता, सहकार्य र सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।