लुम्बिनीखबर
भैरहवा, ३० भदौ । साना किसानलाई आधुनिक प्रविधिसँग जोड्दै कृषि उत्पादन र लगानीलाई प्रभावकारी बनाउनुपर्नेमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख वासु अधिकारीले जोड दिनुभएको छ। साना किसान कृषि सहकारी संस्था शुक्रवार देवदहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले बदलिँदो समयमा सहकारी तथा साना किसान कार्यक्रमलाई प्रविधिमैत्री बनाउँदै युवाको सहभागिता बढाउनुपर्ने बताउनुभयो। युवालाई कृषि तथा सहकारी अभियानमा आकर्षित गर्न विद्यालय तहदेखि नै यससम्बन्धी जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले साना किसानको आर्थिक अवस्था सुधारका लागि सहज कर्जा तथा त्यसको सदुपयोग महत्वपूर्ण हुने बताउँदै लगानी भएका क्षेत्रमा नियमित अनुगमन र कर्जा असुलीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। साना किसानलाई उत्पादनमा जोडेर उनीहरूको आम्दानी बढाउनेतर्फ लगानी केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो। विभिन्न सहकारी संस्थामा पछिल्लो समय देखिएका वित्तीय समस्याबाट पाठ सिक्दै साना किसानसँग सम्बन्धित संस्थाले वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।
सहभागी किसानले कृषि उत्पादनका लागि मलको पर्याप्त उपलब्धता नभएको तथा पशु बीमा कार्यक्रम रोकिँदा किसान प्रभावित भएको गुनासो गरेका थिए। उनीहरूले कृषि उत्पादन तथा पशुपालनमा लगानीको वातावरण सहज बनाउन सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका थिए। साना किसान विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालयका कर्जा विभाग प्रमुख मन्दिपा दाहाल कर्जा सदुपयोग गर्ने बिषयमा जानकारी दिनुभयो ।
कार्यक्रममा देवदह क्षेत्रका किसान, कृषि क्षेत्रमा आश्रित व्यक्तित्व तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।