लुम्बिनीखबर
भैरहवा, ३० भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। ओमसतिया गाउँपालिका–६ नारायणपुरस्थित २३ वर्षीय अमनकुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइराखेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धकधईका प्रहरी निरीक्षक रामभक्त भट्टराईको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अमनकुमार धवल र सोही स्थानका २० वर्षीय सुनिल केवटलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो।