लुम्बिनीखबर
भैरहवा, ३१ भदौ । रुपन्देही प्रहरीले बेवारिसे अवस्थामा एक थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। कञ्चन गाउँपालिका–५ स्थित लुम्बिनी साझेदारी सामुदायिक वनको झाडीमा लुकाइछिपाइ राखेको अवस्थामा गएराति प्रहरीले उक्त बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बिटालु चोकबाट घनश्याम चोकतर्फ गस्ती गर्ने क्रममा वनको झाडीमा बन्दुक फेला पारेको हो। बन्दुकको लम्बाइ चार फिट तीन इन्च रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार पत्रकार सम्मेलनमार्फत बरामद बन्दुक सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। बरामद बन्दुक कानुनबमोजिम नियन्त्रणमा लिई घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।