लुम्बिनीखबर
भैरहवा, ५ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फैसला कार्यान्वयनअन्तर्गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी उनीहरूबाट रु.१ करोड ३५ लाख ४० हजार ६०० जरिवाना असुल गरेको जनाएको छ।
पक्राउ परेका प्रतिवादीबाट अदालतको फैसला कार्यान्वयनका क्रममा जम्मा २३ वर्ष ८ महिना ३ दिन कैद तथा सजायसमेत कार्यान्वयन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। भदौ महिनामा मात्रै फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।
उहाँका अनुसार अदालतबाट फैसला भएका तर विभिन्न कारणले फरार रहेका प्रतिवादीको खोजी गरी पक्राउ गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिइएको छ। पक्राउ परेका प्रतिवादीलाई सम्बन्धित अदालत तथा निकायमा पेश गरी फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको देखिन्छ ।