पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ६ असोज । रूपन्देहीको क्षेत्र नम्बर १ रोहिणी गाउँपालिकाको धकधईमा स्थानीय बासिन्दाहरूले धकधईदेखि मझौली जाने सडक निर्माणमा भइरहेको लामो ढिलाइको विरोधमा बाटो बन्द गरेका छन्।

वर्षौं बित्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा बजारका स्थानीयहरूले सरकारलाई आरोप लगाएका छन्। लामो समयअघि सुरु भएको यो सडक वर्षायाममा हिलोमय र सुख्खायाममा धुलोमय हुँदा यात्रुहरूले ठूलो पीडा भोगिरहेका छन्। स्थानीयहरूले सञ्चारकर्मीसँग आफ्नो दुःख पोख्दै भने, “हामी वर्तमान सरकारप्रति आशा र भरोसा राख्छौं तर यो ढिलाइलाई छिटोछरितो रूपमा सच्याउनुपर्छ।”
बाटो बन्दकर्ताहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको ध्यानकर्षण गराएका छन्। उनीहरूले रोहिणी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तीनै तहको ध्यान केन्द्रित होस्, निर्माण कार्य ढिलाइबाट छिटोछरितो रूपमा अघि बढोस् र यात्रुहरूको आवतजावत सहज होस् भन्ने माग गरेका छन्।
व्यापारी नारायण सिग्देलले तीनै सरकारलाई समन्वय र सहकार्य गरी ठेकेदारलाई तीव्र गतिमा काम गर्न लगाउन आग्रह गरेका छन्। स्थानीयहरूले तीनै तहका सरकारले यस सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने माग गरेका छन्। जायज माग पूरा नभए आन्दोलनलाई तीव्र रूपमा दोस्रो चरणमा लैजाने उनीहरूले चेतावनी दिएका छन्।