लुम्बिनीखबर
भैरहवा, १२ असोज । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रमा छ घर बगाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार गए राति नदीमा आएको बाढीले दुई पक्की र चार कच्ची गरी छ घर बगाएको हो। बाढीका कारण घरमा रहेका सामानसमेत बगेका छन्। बाढी प्रभावित क्षेत्रमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय परिचालन गरिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो। घटनापछि प्रहरीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै उद्धार तथा सुरक्षाका लागि निगरानी बढाएको छ।
लगातारको वर्षाका कारण तिनाउ नदीको जलस्तर बढेपछि बुटवलका नदी तथा खोलानजिकका बस्तीमा जोखिम बढेको हो। नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नदी तथा खोलाको किनार, डुबान र कटानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन तथा जोखिम बढे तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। वर्षा जारी रहेकाले नदीको जलस्तर थप बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको निगरानी गरिरहेका छन्। घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।