logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    वाम आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो:विद्या भण्डारी


    १४ असोज २०८३ , बुधबार

    वाम आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो:विद्या भण्डारी

    लुम्बिनीखबर
    भैरहवा, १४ असोज । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताउनुभएको छ। रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले एमालेले आफूलाई दिएको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताउनुभयो। एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो।

    “अब यहाँभन्दा माथि जाने ठाउँ छैन। राष्ट्रपति भइसकेँ, पदका हिसाबले माथि पुगेँ। अब राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ, त्यसैले यही पार्टीमा रहेर काम गर्छु,” उहाँले भन्नुभयो। बाल्यकालदेखि नै एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो।

    उहाँले विगतको वाम आन्दोलनका क्रममा विभिन्न समस्या आए पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको उल्लेख गर्दै उहाँले २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति भएको बताउनुभयो।

    “नेतृत्वको गल्तीको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो। भण्डारीले जनताको विश्वास जितेर राजनीतिक आस्था बलियो बनाउनुपर्ने बताउनुभयो। मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्दै उहाँले पार्टी, जिल्ला र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले एउटा निर्वाचनको परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै राष्ट्रिय स्वाभिमानको संरक्षण र नेपाली जनताको जीवनस्तर सुधारलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो। “म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ। अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,” उहाँले भन्नुभयो। पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै भण्डारीले पुस्ताबीचको दूरी अन्त्य गरी सबै पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताउनुभयो। शान्तिपूर्ण परिवर्तनका लागि लामो र निरन्तर यात्रा आवश्यक रहेको उहाँको भनाइ थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.