लुम्बिनीखबर
भैरहवा, २९ असोज । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्ने क्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत देवकोटा चोकदेखि आँखा अस्पतालसम्म सडकमा सञ्चालन गरिएको खाना महोत्सवले मुख्य सडकको आवागमन प्रभावित बनायो। सडक नै कार्यक्रमस्थल बनाइँदा यात्रु र सवारीसाधनले असहजता भोग्नुपर्यो भने ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई समेत चुनौती थपियो। सिद्धार्थनगर र आसपासका बासिन्दालाई लक्षित गरी चेम्बर अफ कमर्स, रुपन्देहीले आयोजना गरेको महोत्सवले स्थानीय खानपान र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्य राखे पनि मुख्य सडकमा कार्यक्रम सञ्चालन गर्दा आवागमन व्यवस्थापन कठिन बनेको थियो। एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई समेत सहज आवागमनमा समस्या हुन सक्ने अवस्थाले सडकमा महोत्सव सञ्चालनको विकल्प खोज्नुपर्ने आवश्यकता देखाएको छ।
यस्तै, आगामी मंसिर १७ देखि २८ गतेसम्म सिद्धार्थ उद्योग वाणिज्य संघले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गर्ने तयारी गरेको छ। यसपटक निजी जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गर्न लागिएको छ। यसअघि सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको महोत्सव क्रिकेट मैदान निर्माणपछि उपयुक्त स्थलको अभावमा अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था आएको व्यवसायी बताउँछन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार मेला तथा महोत्सव सञ्चालनका लागि जग्गा भाडामा लिनुपर्ने, महँगो खर्च व्यहोर्नुपर्ने र स्थायी संरचनाको अभावमा व्यवसायीले कठिनाइ भोगिरहेका छन्। व्यापारिक गतिविधि चलायमान बनाउन महोत्सव आवश्यक भए पनि त्यसका लागि व्यवस्थित पूर्वाधार नहुँदा अपेक्षित सहजता हुन नसकेको उहाँको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवामा स्थायी प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। बुटवलमा प्रदर्शनीस्थलको व्यवस्था भए पनि भैरहवामा त्यस्तो पूर्वाधार नहुँदा व्यवसायी समस्यामा परेको उहाँले बताउनुभयो। राज्यले निजी क्षेत्रलाई आवश्यक सुविधा र पूर्वाधार उपलब्ध गराए व्यवसाय विस्तार हुने र त्यसबाट राज्यले प्राप्त गर्ने राजस्वसमेत बढ्ने उहाँको भनाइ छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले पनि व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सव अपरिहार्य भए पनि व्यवस्थित स्थलको अभावले समस्या निम्त्याएको बताउनुभयो। व्यवसायीलाई पटकपटक जग्गा खोज्नुपर्ने र भाडा तिरेर अस्थायी संरचना निर्माण गर्नुपर्ने बाध्यता हटाउन स्थायी प्रदर्शनीस्थल आवश्यक रहेको उहाँको भनाइ छ।
भैरहवा व्यापारिक, पर्यटकीय तथा सीमावर्ती क्षेत्रका रूपमा महत्वपूर्ण रहेकाले यहाँ हुने मेला–महोत्सवले स्थानीय उत्पादन, कृषि, पर्यटन र व्यापारलाई प्रत्यक्ष लाभ पुर्याउन सक्छन्। तर, सडक अवरुद्ध गरेर वा महँगो भाडामा निजी जग्गा लिएर मात्र यस्ता गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थाले दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ। त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरी भैरहवामा स्थायी प्रदर्शनी तथा महोत्सवस्थल निर्माण गर्न पहल गर्नुपर्ने व्यवसायीको माग छ। व्यवस्थित स्थल निर्माण हुन सके सडक अवरोध घट्ने, व्यवसायीको खर्च कम हुने, सुरक्षाकर्मीमाथिको व्यवस्थापनको दबाब घट्ने र सर्वसाधारणले सहज रूपमा महोत्सवको मनोरञ्जन लिन पाउने अपेक्षा गरिएको छ।