भारतीय ट्रान्सपोर्टका प्रतिनिधिमार्फत कारोबार हुने गरेको आरोप, एजेन्टकै जिम्मेवारी रहेको भन्सार प्रमुखको भनाइ
लुम्बिनीखबर
भैरहवा, १२ कात्तिक । भैरहवा भन्सार कार्यालयमा भन्सार एजेन्टको लाइसेन्स, युजर आईडी र पासवर्ड अन्य व्यक्तिलाई प्रयोग गर्न दिने प्रवृत्ति बढेको भन्दै जाँचपास प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ। भन्सार एजेन्ट स्वयं उपस्थित भएर काम गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको र भारतीय ट्रान्सपोर्टका प्रतिनिधि तथा बिचौलियाले भन्सारसम्बन्धी काम गर्दै आएको आरोप सम्बन्धित क्षेत्रका व्यक्तिहरूले लगाएका छन्। भन्सार एजेन्टहरूका अनुसार लाइसेन्स लिएर व्यावसायिक काम गर्न चाहने नेपाली एजेन्टले पर्याप्त काम नपाउने अवस्था सिर्जना भएको छ। केही एजेन्टले आफ्नो लाइसेन्स अरूलाई प्रयोग गर्न दिएको स्वीकार गर्दै यसलाई नियन्त्रण गर्न संघले पहल गरिरहेको बताएका छन्।
नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय उपाध्यक्ष प्राचीन थैवले केही एजेन्टले आफ्नो लाइसेन्स अरूलाई प्रयोग गर्न दिएको बिषयमा सरकारले अनुसन्धान गर्नुपर्ने बताउनुभयो। उहाँले यस्तो प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ। भन्सार एजेन्टको प्रतिनिधित्वबिना जाँचपास हुने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भन्सार विभागले २०८० पुस २३ गते भन्सार एजेन्ट स्वयं उपस्थित गराएर काम गराउन निर्देशन दिएको खियो। तर, उक्त निर्देशनको कार्यान्वयन प्रभावकारी नभएको एजेन्टहरूको गुनासो छ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भने भन्सार एजेन्टहरू नै आफ्नो लाइसेन्स र पहुँचको जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। उहाँले एजेन्ट उपस्थित भएर मात्रै जाँचपास गर्ने गरिएको दाबी गर्दै अनधिकृत व्यक्तिबाट काम गराउने प्रवृत्ति रहेको भन्ने आरोप अस्वीकार गर्नुभएको छ। भारतीय ट्रान्सपोर्टका प्रतिनिधिहरूको भूमिकाबारे उहाँले केही ट्रान्सपोर्टले राम्रो कामसमेत गरिरहेको बताउनुभएको छ। केही भन्सार एजेन्ट तथा कर्मचारीले भन्सारमा अनधिकृत व्यक्तिको पहुँच, लाइसेन्सको दुरुपयोग र आर्थिक लेनदेनसम्बन्धी आरोपसमेत लगाएका छन्। यद्यपि, कर्मचारीले नियमित रूपमा रकम असुल्ने वा उक्त रकम माथिल्लो निकायसम्म पुराउने गरेको आरोप छ।
भन्सार विभागको आधिकारिक जानकारीअनुसार आशिकुडा प्रणालीको पासवर्ड दुरुपयोग भएमा सम्बन्धित भन्सार एजेन्ट स्वयं जिम्मेवार हुने व्यवस्था छ। प्रणालीमा प्रयोगकर्ताको पहुँच र गतिविधिको अभिलेख रहने भएकाले युजर आईडी, लगइन विवरण तथा प्रज्ञापनपत्रको परीक्षणबाट अनियमितताको आशङ्का भए अनुसन्धान गर्न सकिने देखिन्छ। भन्सार एजेन्टको लाइसेन्स तथा डिजिटल पहुँचको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन, प्राविधिक नियन्त्रण र नियमको समान कार्यान्वयन आवश्यक देखिएको छ। आरोपहरूको निष्पक्ष छानबिन गरी दोषी देखिने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।