लुम्बिनीखबर
भैरहवा, १० कात्तिक । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध प्रदर्शनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश) को तस्बिर जलाएको आरोपमा प्रहरीले लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक ९ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा चोकमा भएको प्रदर्शनका क्रममा मन्त्रीको तस्बिर जलाइएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खान र सोही नगरपालिका–९ पिपरा निवासी ३३ वर्षीय वाजिउद्दिन मुसलमानलाई गएराती नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रदर्शनकारीले नवनियुक्त उपाध्यक्ष डोल्माको नियुक्ति बदर गर्न माग गरेका थिए । उनीहरूले वित्तीय पारदर्शिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताको वैधानिकताबारे सार्वजनिक भएका विषय उठाउँदै नियुक्तिप्रति असहमति जनाएका थिए ।
यसैबीच, नियन्त्रणमा लिइएका व्यक्तिका परिवारले प्रहरीले बिना कारण पक्राउ गरेको आरोप लगाएका छन् । उनीहरूले संविधानप्रदत्त मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै विरोध प्रदर्शन गर्न पाउने भन्दै प्रदर्शनमा सहभागी भएकै आधारमा नियन्त्रणमा लिनु उचित नभएको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले घटनाबारे जानकारी दिँदै नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।