लुम्बिनीखबर
भैरहवा, १७ कात्तिक । चिकित्सा प्रविधिमा आएको नवीनतम विकासलाई स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमामा अत्याधुनिक अल्ट्रासाउण्ड डायग्नोस्टिक सेवा विस्तार गरिएको छ । निदान अल्ट्रासाउण्ड डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिसहितका नयाँ उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । अल्ट्रासाउण्ड तथा निदान सेवामा दुई दशकभन्दा लामो अनुभव हासिल गरेको सेन्टरले करिब साढे दुई करोड रुपैयाँभन्दा बढी लगानीमा आधुनिक उपकरण भित्र्याएको जनाएको छ । नयाँ प्रविधिबाट गर्भावस्थामा रहेका शिशुको अवस्था, महिलासम्बन्धी विभिन्न स्वास्थ्य समस्या तथा कलेजोको अवस्थाको परीक्षण र मूल्याङ्कन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सेन्टरका वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले नयाँ प्रविधिको प्रयोगले स्वास्थ्य परीक्षणको गुणस्तर र रोग पहिचान प्रक्रियालाई थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँका अनुसार परीक्षणको नतिजालाई थप विश्वसनीय बनाउँदै रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुर्याउने उद्देश्यले अत्याधुनिक उपकरण जडान गरिएको हो । डा. खनालले रोगको समयमै पहिचान र उपचारका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्दै चिकित्सा क्षेत्रमा भित्रिएका नयाँ प्रविधिको उपयोगलाई स्वास्थ्य सेवाको गुणस्तर सुधारसँग जोड्नुपर्ने बताउनुभयो । प्रविधि उपलब्ध हुनु मात्र पर्याप्त नहुने भन्दै त्यसको सही प्रयोग, चिकित्सकीय दक्षता र सेवाप्रदायकको इमानदारी पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका पूर्वकार्यकारी प्रमुखसमेत रहनुभएका डा. खनालले दुर्गम तथा पहुँचबाट टाढा रहेका क्षेत्रमा निःशुल्क अल्ट्रासाउण्ड स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ । उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीलाई अल्ट्रासाउण्ड परीक्षणसम्बन्धी प्राविधिक ज्ञान र सीप हस्तान्तरणमा समेत योगदान पुर्याउँदै आउनुभएको छ । स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तारका लागि आधुनिक उपकरणको उपलब्धतासँगै नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन, दक्ष जनशक्ति र चिकित्सकीय जिम्मेवारी आवश्यक रहेको डा. खनालले बताउनुभयो ।