लुम्बिनीखबर
भैरहवा, १७ कात्तिक । रुपन्देहीको देवदहमा पहिलोपटक महान् कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ । यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई कथिन चीवर दान गरिएको हो ।
विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीका अनुसार कार्यक्रममा २० जना भिक्षु तथा भिक्षुणी सहभागी थिए । विहारमा श्रीलङ्काका चन्दनन्द भन्ते र अमेरिकाका श्रामणेर सुमनाले वर्षावास गर्नुभएको थियो । कार्यक्रममा देवदह, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थान तथा भुटानबाट आएका उपासक–उपासिकाको सहभागिता रहेको थियो ।
स्थानीय पत्रकार विष्णु पोखरेलले बुद्ध शिक्षाले मानव जीवनमा मैत्री, करुणा, अहिंसा, सद्भाव र परोपकारको भावना विकास गर्न प्रेरित गर्ने बताउनुभयो । बुद्धका उपदेशलाई व्यवहारमा उतार्न सके समाजमा शान्ति, सहिष्णुता र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । बौद्ध शिक्षाकाज्ञाता टंक सुनारले कथिन चीवर दान बौद्ध धर्मको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा भएको बताउनुभयो । वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई चीवर दान गर्नु संघप्रतिको श्रद्धा, त्याग र पुण्य सञ्चयसँग जोडिएको परम्परा भएको उहाँले उल्लेख गर्नुभयो । थेरवाद बौद्ध परम्परामा कथिन चीवर दानलाई अत्यन्त पवित्र र ऐतिहासिक महत्त्वको संघदानका रूपमा लिइन्छ । वर्षायाममा तीन महिना वर्षावास बसेर साधना पूरा गरेका भिक्षु–भिक्षुणीलाई चीवर अर्थात् वस्त्र दान गर्ने परम्परालाई कथिन चीवर दान भनिन्छ । यो दान वर्षावास समाप्त भएपछि आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म गरिन्छ ।
बौद्ध परम्पराअनुसार कथिन चीवर दानको सुरुआत भगवान् बुद्धकै समयमा भएको मानिन्छ । पावाबाट आएका ३० जना भिक्षु वर्षावास पूरा गरी भगवान् बुद्धको दर्शन गर्न श्रावस्तीस्थित जेतवन विहारतर्फ जाँदै गर्दा वर्षाका कारण उनीहरूका चीवर भिजेर मैला भएका थिए । भिक्षुहरूको कठिनाइलाई ध्यानमा राख्दै भगवान् बुद्धले संघको हितका लागि कथिन चीवर दानको परम्परालाई अनुमति दिनुभएको बौद्ध ग्रन्थमा उल्लेख छ । कथिन दान केवल वस्त्र प्रदान गर्ने कर्म मात्र नभई दान, त्याग, करुणा र संघप्रतिको श्रद्धाको अभ्यासका रूपमा लिइन्छ । देवदहमा पहिलोपटक आयोजना गरिएको कार्यक्रमले यस क्षेत्रको बौद्ध सांस्कृतिक तथा आध्यात्मिक परम्पराको संरक्षण र बुद्ध शिक्षाको प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।