logo
  • १८ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    जुबेदा खातुन हत्या प्रकरणमा चार जना पक्राउ


    १८ कार्तिक २०८३ , मंगलबार

    जुबेदा खातुन हत्या प्रकरणमा चार जना पक्राउ

    लुम्बिनीखबर
    भैरहवा , १७ कात्तिक । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४२ वर्षीया जुबेदा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–७ स्थित धान खेतमा खातुनको शव फेला परेको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा सोमबार चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६ का बैजनाथ यादवसहित चार जना रहेका छन्। पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो।

    मृतकको शरीरबाट लुटिएका गरगहनाको खरिदबिक्री, हत्याको सम्भावित कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो। घटनामा संलग्न आरोपितहरूको विस्तृत परिचय, हत्याको कारण र अनुसन्धानबाट खुलेका अन्य तथ्य मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ। यसैबीच, रुपन्देहीमा पछिल्लो समय आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने विषय चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन्। अपराध नियन्त्रणका लागि प्रहरीको अनुसन्धान र सुरक्षा सक्रियतासँगै समुदायस्तरमा सचेतना तथा सामाजिक निगरानीलाई पनि प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव छ।

    सामाजिक अभियन्ता तथा सरोकारवालाका अनुसार अपराध न्यूनीकरणका लागि स्थानीय तहले वडास्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। विशेषगरी महिला तथा बालबालिकाको सुरक्षा, सामाजिक विकृति नियन्त्रण, शंकास्पद गतिविधिबारे समयमै जानकारी गराउने व्यवस्था र समुदाय–प्रहरी सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ। अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, नागरिक समाज, सामाजिक सङ्घसंस्था र आम नागरिकको साझा दायित्व भएको उनीहरूले बताएका छन्। प्रहरीको सक्रिय अनुसन्धानसँगै समुदायको सहभागिता र स्थानीय तहको प्रभावकारी पहल हुन सके आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.