logo
  • १९ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    आर्थिक पारदर्शिताका लागि लेखा सचेतना अभियान चलाइँदै


    १९ कार्तिक २०८३ , बुधबार

    आर्थिक पारदर्शिताका लागि लेखा सचेतना अभियान चलाइँदै

    लुम्बिनीखबर
    भैरहवा, १८ कात्तिक । विश्व लेखा दिवसको अवसर पारेर रुपन्देहीमा आर्थिक सुशासन, वित्तीय पारदर्शिता र लेखा प्रणालीको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिने भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को सहकार्य तथा आईक्यान बुटवल शाखाको आयोजनामा हुन लागेको कार्यक्रमको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी औपचारिक सुरुआत गरिएको हो। ‘लेखा बुझौँ, आर्थिक सुशासन अपनाऔँ, व्यवसाय तथा समाजमा पारदर्शिता प्रवर्द्धन गरौँ, लेखा सचेतनालाई प्रत्येक व्यक्ति, घरपरिवार, व्यवसाय तथा सङ्घसंस्थासम्म पुर्‍याऔँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्न लागिएको एफसीए शिवहरि शर्माले जानकारी दिनुभयो। कार्यक्रममा वक्ताहरूले आर्थिक पारदर्शिता र जवाफदेहिताको आधार नै व्यवस्थित लेखा प्रणाली भएको उल्लेख गर्दै यसको अभ्यास राज्यका निकायदेखि निजी क्षेत्र र सर्वसाधारणसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

    आर्थिक कारोबारको सही अभिलेख राख्ने र त्यसको परीक्षण गर्ने प्रणालीबारे आम नागरिकमा पर्याप्त जानकारी नहुँदा विभिन्न क्षेत्रमा अन्योलता देखिने गरेको उहाँहरूको भनाइ थियो। आर्थिक सुशासन कायम नगरी समग्र सुशासनको परिकल्पना गर्न नसकिने भएकाले लेखा प्रणालीलाई संस्थागत गर्न आवश्यक रहेको उहाँहरूले बताउनुभयो। कार्यक्रममा एक्यान लुम्बिनीका अध्यक्ष शंकर ज्ञवालीले लेखा र लेखापरीक्षण फरक विषय भएको स्पष्ट पार्दै प्रत्येक व्यवसाय तथा संस्थाले आफ्नो आर्थिक कारोबारको व्यवस्थित अभिलेख राख्नुपर्ने बताउनुभयो। लेखापरीक्षण भने सम्बन्धित कानुनी व्यवस्था र व्यावसायिक मापदण्डअनुसार चार्टर्ड एकाउन्टेन्टमार्फत गरिने उहाँले जानकारी दिनुभयो।

    त्यसैगरी अडान लुम्बिनी प्रदेशका अध्यक्ष टुकराज पाण्डेले आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र लेखा प्रणालीको महत्वलाई आम नागरिकसम्म पुर्‍याउन सचेतनामूलक अभियान आवश्यक रहेको बताउनुभयो। आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सके व्यक्ति, व्यवसाय, संस्था तथा राज्यको वित्तीय सुशासनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो। वक्ताहरूले आर्थिक तथा राजनीतिक क्षेत्रमा देखिने समस्याको समाधानका लागि पारदर्शी, उत्तरदायी र कानुनसम्मत प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो। सही निर्णय र प्रभावकारी नीति निर्माणका लागि विश्वसनीय आर्थिक तथ्याङ्क तथा सूचना आवश्यक हुने भएकाले लेखा प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँहरूले बताउनुभयो।

    चार्टर्ड एकाउन्टेन्टहरूको व्यावसायिक हकहित तथा क्षमता विकासका लागि स्थापित एक्यानमा देशभर करिब तीन हजार ५०० सदस्य आबद्ध छन्। त्यस्तै, अडानमा करिब आठ हजार सदस्य आबद्ध रहेको जनाइएको छ। विश्व लेखा दिवसका अवसरमा सञ्चालन हुने अभियानले लेखा तथा लेखापरीक्षणसम्बन्धी ज्ञानलाई व्यावसायिक क्षेत्रबाट आम नागरिकको दैनिक जीवनसम्म विस्तार गर्दै आर्थिक अनुशासन र पारदर्शिताको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.