लुम्बिनीखबर
भैरहवा, २२ कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुट, प्राविधिक जटिलता र नियमित अन्तर्राष्ट्रिय उडानको विषयमा छलफल हुने अपेक्षा गरिएको छ । प्रतिनिधिसभा सदस्य पुनमकुमारी अग्रवालले विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको जनाउँदै प्रधानमन्त्रीको भारत भ्रमणबाट यस क्षेत्रका नागरिक र व्यवसायीले सकारात्मक सन्देश पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
भैरहवामा शनिबार निजी क्षेत्रका प्रतिनिधि तथा पर्यटन व्यवसायीसँग भएको छलफलमा उहाँले विमानस्थल सञ्चालनको विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । यसका लागि आफूले संसद्, मन्त्रालय, विभाग तथा विभिन्न कूटनीतिक नियोगमार्फत निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै उहाँले विमानस्थल सञ्चालन हुने विषयमा निराश हुनुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो । “सरकारले आवश्यक आन्तरिक तयारी गरिरहेको छ । जनप्रतिनिधिका रूपमा मैले पनि संसद्, मन्त्रालय, विभाग र विभिन्न कूटनीतिक नियोगमा पहल गरिरहेकी छु । सबैभन्दा महत्त्वपूर्ण कुरा सरकारले आन्तरिक रूपमा तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो, “त्यसैले विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने मेरो विश्वास छ ।” भैरहवास्थित चेम्बर अफ कमर्स, रुपन्देहीको सभाहलमा आयोजित छलफलमा सांसद अग्रवालले विगतमा विमानस्थल सञ्चालनका विषयमा भएका ढिलाइ र कमजोरीलाई मात्र दोहोर्याएर अबको बाटो तय गर्न नसकिने बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुमा सरकारको निरन्तर पहल र तयारीको भूमिका रहेको उल्लेख गर्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका हकमा पनि सबै पक्षले सकारात्मक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
“विगतमा के भयो, कसले के गर्यो र कहाँ चुकियो भन्नेतिर अल्झिनुभन्दा अब कसरी अघि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । केही ढिलाइ पक्कै भएको हो, तर यो विमानस्थल जसरी पनि चल्छ । यही सरकारले चाँडै सञ्चालनमा ल्याउँछ”, उहाँले भन्नुभयो । सांसद अग्रवालले विमानस्थल सञ्चालनका लागि संसद्मा पाँच पटकसम्म विषय उठाइसकेको जानकारी दिँदै प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यसले प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो । हवाई रुट तथा प्राविधिक समस्याको समाधान र नियमित उडानको व्यवस्था गर्न भारतसँग आवश्यक छलफल हुनुपर्ने उहाँको भनाइ थियो ।
“म सांसद भएपछि संसद्मा पाँच पटकसम्म विमानस्थल सञ्चालनको विषय जोडदार रूपमा उठाइसकेकी छु । यो विषय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा पनि पक्कै परेको छ । त्यसैले भ्रमणबाट सकारात्मक सन्देश आउने विश्वास लिएकी छु”, उहाँले भन्नुभयो । उहाँले विमानस्थल सञ्चालनको विषयलाई सरकारको मात्र जिम्मेवारीका रूपमा नहेरी निजी क्षेत्रले पनि एकताबद्ध भएर पहल गर्नुपर्ने बताउनुभयो । पर्यटक आकर्षित गर्न होटल तथा पर्यटन व्यवसायीले सेवामा छुट र विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिँदै उहाँले विमानस्थल सञ्चालनसँगै यस क्षेत्रका अन्य पूर्वाधार र पर्यटकीय गन्तव्यको विकासलाई पनि सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
विशेष आर्थिक क्षेत्र, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, एकीकृत जाँचचौकी, बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थ क्रिकेट मैदानको एकीकृत विकास तथा सञ्चालनले रुपन्देहीसहित समग्र लुम्बिनी क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न सक्ने उहाँले बताउनुभयो । भारतको नौतनवासँग रेलमार्गको सम्पर्क विस्तारका लागि समेत पहल भइरहेको उहाँको भनाइ थियो । छलफलमा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोकाले विमानस्थल सञ्चालन हुने अपेक्षामा निजी क्षेत्रले होटल, पर्यटन तथा पूर्वाधारमा ठूलो लगानी गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानीको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । विमानस्थललाई आधार बनाएर व्यवसाय विस्तार गरेका व्यवसायी अहिले लगानी जोखिममा पर्ने अवस्था भोगिरहेको उहाँले उल्लेख गर्नुभयो । सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले भैरहवा र आसपासको क्षेत्रमा पर्यटन तथा होटल व्यवसायमा अर्बौँ रुपैयाँ लगानी भइसकेको बताउनुभयो । विमानस्थल सञ्चालन हुने अपेक्षामा थप लगानी गरिएको भए पनि नियमित उडान नहुँदा व्यवसाय सञ्चालनमै कठिनाइ भएको उहाँको भनाइ थियो । होटल तथा पर्यटन व्यवसायीलाई बैंकको ब्याज भुक्तानी गर्नसमेत समस्या भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिले विमानस्थल सञ्चालन नहुँदा होटल, यातायात, ट्राभल र पर्यटन व्यवसायमा अपेक्षित चहलपहल बढ्न नसकेको बताएका थिए । विमानस्थलको अनिश्चितताले रोजगारी सिर्जना, नयाँ लगानी र समग्र व्यावसायिक वातावरणमा असर पारेको उल्लेख गर्दै उनीहरूले सरकारले सञ्चालनको स्पष्ट योजना र कार्यान्वयनमा जोड दिनुपर्ने माग गरेका थिए । व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विगतमा भएका प्रयासले अपेक्षित परिणाम दिन नसकेको जनाउँदै वर्तमान सरकारले यसलाई प्राथमिकतामा राखेर ठोस निर्णय गर्नुपर्ने बताएका थिए । उनीहरूले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विमानस्थल सञ्चालनसँग सम्बन्धित विषयमा आवश्यक छलफल र पहल गर्न आग्रह गर्दै सरकार, जनप्रतिनिधि र निजी क्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।