logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    विज्ञको सुझाव ः चाडपर्वको बेला के खाने, के नखाने ?


    १६ असोज २०७३ , आइतबार

    विज्ञको सुझाव ः चाडपर्वको बेला के खाने, के नखाने ?
    kishor-khatri

    किशोर खत्री प्रमुख, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, भैरहवा

    खत्री सर, लुम्बिनीखबरको साताको संवादमा यहाँलाई स्वागत छ ।
    –धन्यवाद  ।

    नेपालीहरुको ठूला चाडपर्व नजिकिँदै छन् । यस्तो बेलामा खाद्यान्नको दैनिक उपभोग औसत भन्दा दोब्बर हुने गर्दछ । तर व्यापारीहरु गुणस्तरहीन खाद्यान्न बेचिरहेका हुन्छन् । यस्तो समयमा  सर्वसाधारणहरु कसरी सचेत हुने ?
    –एकदम समसामयिक र सान्दर्भिक प्रश्नका लागि धन्यवाद, हाम्रा ठूला चाडवाड बडा दशैँ लगायत तिहार, छठ पर्वहरु क्रमशः आइरहेका छन् र यस्तो समयमा खास गरी खाद्य पदार्थको बिक्री वितरण, खरीद तथा उपभोग बढ्ने नै भयो र यो स्वभाविक पनि हो । खाद्य पदार्थ र गुणस्तरको कुरा गर्दा खाद्य बजारमा पाइने सबै खाद्य उत्पादनहरु गुणस्तरहीन भन्ने होइन  तर पनि केहि केहि खाद्य उत्पादनहरु गुणस्तरहीन भने पाइने गरेको कुरा सही हो र बजार अनुगमन निरीक्षणका क्रममा हामीले त्यस्ता उत्पादनहरु जफत गरी नष्ट लगायतको कारबाही पनि गर्दै आएका छौं ।  खाद्य बजार, खाद्य उद्योग, होटल रेष्टुरेन्ट निरीक्षण अनुगमनको हाम्रो अनुभवमा सामान्यतया स्थान अनुसार १० देखि २० प्रतिशत खाद्य उत्पादनहरु खाद्य ऐन नियम विपरीत कुनै न कुनै कैफियत भएको पाइएको अवस्था छ ।
    यस्तो अवस्था चाडबाडमा बढ्न सक्ने सम्भावना रहने हुँदा हामी सबै विशेषतः आम उपभोक्ताहरु खाद्य पदार्थको गुणस्तका बारेमा सतर्क र चनाखो हुनु जरुरी हुन्छ । सर्वसाधारण उपभोक्ताहरुले आफु नठगिन र गुणस्तरीय खाद्य उत्पादन खरीद गरी उपभोग गर्न केही सामान्य कुराहरुलाई ध्यान दिएको खण्डमा राम्रो हुन्छ । जस्तो आफुले खरीद गर्ने डिब्बा, बोतल र प्याकेट बन्द खाद्य उत्पादनहरुको आवरणको लेबल विवरण राम्ररी हेरेर उत्पादन मिति, म्याद नाघ्ने उपभोग्य मिति, उत्पादकको नाम ठेगाना, तौल, मूल्य, त्यस खाद्य पदार्थमा  प्रयोग भएको बनावटको मिश्रण आदि उचित र सहि अवस्थामा छ भने मात्र खरीद गर्ने ।
    त्यसै गरी सिल नखुलेको, बिर्को नखुलेको, नच्यातिएको अवस्था राम्ररी हेर्ने र शंकास्पद अवस्थाको लागेमा त्यस्तो खाद्य पदार्थ खरीद नगर्ने । भरसक आफुले उपभोग गरीरहेको भरपर्दो एवं विश्वासिलो उद्योग एवं उत्पादकको खाद्य पदार्थ रोज्दा राम्रो हुन्छ, कहिले काहीं चाडबाडमा मात्र आउने नयाँ उत्पादकको उत्पादन तुरुन्तै विश्वास गरिहाल्नु हुंदैन अलि सोच विचार गरेर मात्र त्यस्ता खाद्य पदार्थहरु खरीद गर्दा राम्रो हुन्छ ।
    त्यस्तै आवरणमा लेवल विवरण नभएका, अंग्रेजी, नेपाली बाहेक अन्य नबुझिने विदेशी भाषामा लेवल विवरण भएका, घाममा पर्ने गरी प्रत्यक्ष रुपमा राखिएका वा सजाएका, भिजेका, ओसिलो ठाउँमा भण्डारण गरीएका, खाद्य र अखाद्य पदार्थहरु नजिकै संग संगै राखिएको छ भने पनि त्यस्तो खाद्य पदार्थहरु खरीदका लागि रोज्नु हुंदैन । रंगीचंगी हुने गरी अधिक रंग प्रयोग भएका, खुल्ला रुपमा राखिएका, फोहोर अवस्थाका, फोहोर ठाउंमा तयार पारिएका, सडे गलेका, धुवां धुलो, किरा जस्ता बाह्य अखाद्य पदार्थहरु सजिलै मिसिने ठाउं एवं व्यस्त सडक पेटिमा राखिएका, फोहोरी तथा रोगी व्यक्तिले तयार गरको वा विक्री वितरण गरीएका, अपत्यारीलो हिसाबले अस्वभाविक रुपमा मुल्य घटाएर विक्रिमा राखिएका खाद्य पदार्थहरु खरीद एवं उपभोग नगरौं भन्ने सन्देश हामी दिन चाहान्छौं ।
    यी कुराहरुलाई मात्रै ध्यान दिई सचेत हुन सकियो गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरणको कार्यमा निश्चय पनि कमी आउनुका साथै खाद्य स्वच्छता र गुण नियन्त्रणको कार्यमा स्वनियमन हुन गई आम उपोक्तको तर्फबाट समेत महत्वपूर्ण योगदान हुनेछ ।

    तपाई खाद्यान्नको गुण नियन्त्रक पनि हुुनुहुन्छ, बजारमा पाईने तेल, चामल, दाल, मिठाई, चाउचाउ, बिस्कुट जस्ता सबैभन्दा बढी खपत हुने खाद्यपदार्थमा मिसावट भए नभएको सर्वसाधारणले कसरी पहिचान गर्ने ?
    –कतिपय कुराहरु मैले माथि नै भनिसकेँ । अब बजारमा पाइने तेल, चामल, दाल, मिठाई, चाउचाउ, बिस्कुट जस्ता सबैभन्दा बढी खपत हुने खाद्यपदार्थमा मिसावट भए नभएको सर्वसाधारणले थाहा पाउन त्यति सजिलो काम चाहिं होइन यो एउटा विज्ञाननै हो । तर पनि सर्वसाधारणले आफ्नो लामो उपभोगको अनुभव र कतिपय अवस्था हेरेर मोटामोटि रुपमा थाहा पाउन भने सक्दछन् ।
    कतिपय अवस्थामा खाद्य पदार्थको रंग, गन्ध, आकार प्रकार, स्वाद, भौतिक अवस्था, बाह्रय पदार्थको उपस्थिति आदिबाट केही हदसम्म मिसावट भए नभएको थाहा पाउन त सकिन्छ तर सबै खाद्य पदार्थको हकमा भने यो लागु नहुन सक्दछ र अपूर्ण हुन सक्दछ । जस्तो एउटा उदाहरण मिक्स दाल भनेर बिक्री वितरण भई रहेको दालमा हामीले खेसरीको दाल (स्थानियस्तरमा लतरी भनिने) मिसाइएको सजिलै थाहा पाउन सकिन्छ र त्यस्को लागि खेसरीको दालको आकार प्रकार बारे जानकार चाहिं हुनु पर्दछ जुन गोलकार नभई नमिलेको अलिक सानो एकातर्फ अलि चुच्चो परेको हुन्छ । खेसरीको दाल हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ र यसको लामो समय सम्मको उपभोगले प्यारालाइसिस जस्तो घातक रोग लाग्ने कुरा विज्ञानले पुष्टि गरेको छ ।
    त्यसै गरी तोरीको तेल एक नासको नभई बोतलको पिधंमा धमिलो जम्न खोजको छ भने सस्तो खाद्य तेल पाम आयलको मिसावट हुन सक्दछ । त्यस्तै पानी मिसाए वा नमिसाएकोे दुध भांडामा खन्याउँदा त्यसको भौतिक अवस्था वा तर (चिल्लो पलार्थ) को मात्रा बाट थाहा हुन्छ भने लामो सयम सम्म दुध फाटेन वा दही जमेन भने सोडाको मिसावट हुन्छ । यसरी अनुभव गर्न सकिने र बाहिरबाट हेर्दा थाहा हुन सकिने कतिपय मिसावटका बारे भने सर्वसाधारणले थाहा पाउन सक्दछन् । यस प्रकारको विवरण पनि लामो छ । खाद्य पदार्थहरुको मिसावट बारे राम्ररी थाहा पाउन र सुनिश्चित गर्न भने प्रयोगशाला जांच विश्लेषणको आवश्यकता पर्दछ, जो सर्वसाधारण उपभोक्ताहरु सबैको ज्ञान हुने कुरा भएन र आफैं घर घरमा गर्न सम्भव पनि हुँदैन ।

    त्यस्तो शंका लागेमा सर्वसाधारणले तत्काल के गर्दा उपयुक्त हुन्छ ?
    यस सम्बन्धमा सबैभन्दा राम्रो उपाय शंका लागेमा त्यस्तो खाद्य पदार्थ छनौट एवं खरीद नगर्ने, यस्का उत्पादक तथा बिक्रेतालाई यस बारे सोधपुछ तथा प्रतिप्रश्न गर्ने बानी बसाल्ने र नियमनकारी निकायहरुलाई सो बारे जानकारी दिने अभ्यास गर्न सके मिसावट भए नभएको छिनोफानो गरी कानुन बमोजिम कारबाही गर्न मद्दत मिल्दछ ।

    बजारमा पिउने पानीदेखि लिएर खाने तेलसम्म बारम्बार मिसावट हुने गरेको देखिएको छ । यस्तो अवस्थामा आम उपभोक्ताहरु कसरी खाद्यान्न ढुक्क भएर उपभोग गर्ने ?
    –हाम्रो खाद्य बजारको अवस्था हेर्दा यस प्रकारका केही न केही समस्या रहेको अवस्था त छ तापनि आम उपभोक्ताहरुले आफ्नो अनुभव, ज्ञान, उत्पादनको, बजारको अवस्था र आम रुपमा  विभिन्न संचार माध्यम, नियमनकारी निकायहहरुले दिएको सूचना जानकारी आदिलाई मध्य नजर राखी सही र गुणस्तरीय खाद्य पदार्थको छनौट गर्न सकियो भने खाद्य पदार्थहरु ढुक्क भएर उपभोग गर्न सकिन्छ । जे जस्तो अवस्थामा भेटिन्छ त्यही खरीद गरी खाने त हो भन्ने हाम्रो सोच बदलेर जुन सही र गुणस्तरीय छ छनौट गर्ने विकल्पको समेत खोजी गरी उपभोग गर्न सके ढुक्क हुन सकिन्छ । यसका लागि असल उपभोक्ताको अभ्यास जरुरी हुन्छ ।

    सर्वसाधारणलाई गुणस्तरयुक्त खाद्यान्न व्यवस्थापन गर्नको लागि यहाँको कार्यालयले के के गरिरहेको छ ?
    –सर्वसाधारणलाई गुणस्तरयुक्त खाद्यान्न व्यवस्थापन गर्नको लागि हाम्रो कार्यालयले कार्यालयलाई प्राप्त श्रोत र साधनले भ्याएसम्म खाद्य स्वच्छता तथा खाद्य गुण नियन्त्रणका विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै आएका छ । जस्तै खाद्य बजार, खाद्य उद्योग, होटल, मिठाई पसल, रेष्टुरेन्टहरुरको अनुगमन निरीक्षण, शंकास्पद खाद्य नमुना संकलन तथा जाँच विश्लेषण, सम्बन्धित उजुरी तथा गुनासोको सम्बोधन एवं कारबाही, खाद्य स्वच्छता, खाद्य गुणस्तर खाद्य ऐन नियम, खाद्य स्वच्छता एवं सरसफाइ सचेतना (Food hygiene and sanitation), खाद्य स्वच्छता सम्बन्धि सचेतना मूलक तालिम, भेला, गोष्टी, खाद्य प्रशोधन तथा खाद्य पोषण, असल खाद्य उत्पादन अभ्यास सम्बन्धि तालिम लगायतका कार्यक्रमहरु होटल संचालक, उद्यमी व्यवसायी, उपभोक्ता लगायतका सरोकारवालाहरुलाई प्रदान गर्दै आएका छौं ।
    त्यसै गरी उपभोक्ता सचेतना कार्यक्रम अन्तर्गत खाद्य स्वच्छता, खाद्य गुणस्तर खाद्य ऐन नियम आदि बारे स्थानिय विभिन्न संचार माध्यमहरुबाट ज्ञानबद्र्धक र चेतनामूलक संदेश एवं सूचनाहरु नियमित रुपमा प्रचार प्रसार गरिँदै आइएको छ ।
     
    उपभोक्ता ठग्ने नियतवश मिसावट गर्ने उद्योगी, व्यापारीलाई कानुनले के गर्छ त ?
    –छोटकरीमा भन्नुपर्दा उपभोक्ता ठग्ने नियतवश मिसावट गर्ने उद्योगी, व्यापारीलाई प्रचलित खाद्य ऐन नियमानुसार कारबाही हुन्छ र भएको छ । त्यस्ता उद्यमी व्यवसायीको कारोबार शिल गरी रोक्का राख्ने, कैफियत देखिएको खाद्य पदार्थहरु नष्ट गर्ने देखि लिएर शंकास्पद खाद्य नमुना संकलन गरी प्रयोगशाला जाँच विश्लेषण गरी प्राप्त नतिजाको आधारमा प्रचलित खाद्य ऐन नियम अनुसार मुद्दा दायर गरी दण्डित गर्ने समेतको कारबाही कार्यालयले गर्दै आएका छौं ।

    गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार यहाँको क्षेत्रमा उपभोक्ता ठग्ने, मिसावट गर्ने उद्योग व्यापारीको तथ्यांक के छ ?
    –गत आ.व. मा हामीले पश्मिाञ्चलका विभिन्न जिल्लाहरुबाट ३०० वटा शंकास्पदा विविध खाद्य पदार्थहरुको नमुना संकलन गरेकोमा ३६ वटा खाद्य नमुनाहरु तेल, बिस्कुट, चाउचाउ, मैदा, सस, मसला, प्रशोधित पिउने पानी, दालमोठ, दाल लगायतका उत्पादनहरुमा कैफियत पाइएको थियो भने चालु आ.व.को दोस्रो महिनाको अन्त्यसम्ममा ५१ शंकास्पदा विविध खाद्य पदार्थहरुको नमुना संकलन भई प्रयोगशला जांच विश्लेषणको कार्य भईरहेको र प्रयोगशाला जांच विश्लेषणको कार्य सम्पन्न भएका ३४ खाद्य नमुना मध्ये ६ वटामा कैफियत पाइएको अवस्था छ ।
    त्यसैगरी खाद्य बजार, खाद्य उद्योग होटल, मिठाई पसल, रेष्टुरेन्टहरुको अनुगमन निरीक्षणको क्रममा खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री वितरण गर्ने, लेवल विवरण नराख्ने, लेवल विवरण अपुर्ण राख्ने, तोकएको सिमा भन्दा बढी मात्रामा रंग तथा रसायनहरु प्रयोग गर्ने, कतै कतै अखाद्य रंग तथा रसायनहरुको प्रयोग भएको, उत्पादन स्थलको सरसफाइमा ध्यान नदिने, कामदारहरुको व्यक्तिगत सरसफाइमा ध्यान नदिने, उचित तवरले भण्डारण नगर्ने, लेवल विवरण नभएका, लेवल विवरण अपूर्ण भएका, उपभोग्य म्याद समाप्त भएका खाद्य पदार्थहरुकको करोवार गर्ने आदि प्रकारका कैफियतहरु पाइने गरेको अवस्था विद्यमान छ । विभिन्न जिल्लाहरुमा गरीएको खाद्य बजार, खाद्य उद्योग होटल, मिटाइ पसल, रेष्टुरेन्टहरुको अनुगमन निरीक्षणको तथ्यांक हेर्दा यस्तो प्रकारको कैफियतको अवस्था चाहिं अलि धेरै नै पाइएको छ ।

    त्यस्तालाई के कारबाही प्रक्रिया अगाडि बढेको छ ?
    यस्तो अवस्थामा प्रचलित खाद्य ऐन नियमानुसार विभिन्न प्रकारको कारवाही भएको र अगाडि बढेको  छ । एक प्र्कारले भन्नुपर्दा यो नियमित प्रक्रिया जस्तै भइ रहको छ ।  जस अनुसार कार्यालयका खाद्य       निरीक्षकहरुले संकलन गरेको नमुनाको कैफियतमा अनुसन्धान तहकिकात भइ रहेको र कतिपयको अनुसन्धान तहकिकात सम्पन्न गरी मुद्दा दायर भएको अवस्था छ । यसै क्रममा कार्यालयले गत आ.व. मा नौ वटा खाद्य मुद्दाहरुको अनुसन्धान तहकिकात सम्पन्न गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ भने, यस चालु आ.व. को दोस्रो महिना सम्ममा कार्यालयले विगतका गत आवका समेत खाद्य नमुनाका कैफियतहरु लगायतको अनुसन्धान तहकिकात सम्पन्न गरी २२ वटा खाद्य मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर गरेको छ ।
    खास गरी यी मुद्दाहरु सामान्य प्रकृतिका खाद्य ऐन नियम उल्लघंन (खाद्य अनुपत्र नलिई उत्पादन तथा बिक्री वितरण गर्ने, लेवल विवरण नराख्ने, अपुर्ण राख्ने) गर्ने देखि लिएर, न्युनस्तर र दूषित प्रकारका कैफियत भएका खाद्य पदार्थहरु उत्पादन तथा बिक्री वितरण गर्ने उत्पादक तथा बिक्रेताहरुलाई दायर गरीएको छ ।
    त्यसै गरी खाद्य बजार, खाद्य उद्योग होटल, मिठाई पसल, रेष्टुरेन्टहरुरको अनुगमन निरीक्षणको क्रममा खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गर्ने, लेवल विवरण नराख्ने, लेवल विवरण अपुर्ण राख्ने, तोकिएको सिमा भन्दा बढी मात्रामा रंग तथा रसायनहरु प्रयोग गर्ने, कतै कतै अखाद्य रंग तथा रसायनहरुको प्रयोग भएको, उत्पादन स्थलको सरसफाइमा ध्यान नदिने, कामदाहरुको व्यक्तिगत सरसफाइमा ध्यान नदिने, उचित तवरले भण्डारण नगर्ने, लेवल विवरण नभएका, लेवल विवरण अपुर्ण भएका, उपभोग्य म्याद समाप्त भएका आदि प्रकारका कैफियतहरुको हकमा स्थलगत रुपमै कसूर अनुसार चेतावनी पत्र दिने, उत्पादन स्थल शिल गरी सरसफाइ सुधार्न लगाउने, त्यस्ता उत्पादनहरु जफत गरी नष्ट गर्ने गराउने,  बजारबाट फिर्ता गर्न लगाउने, खाद्य अनुज्ञापत्र अनिवार्य रुपमा लिन लगाउने, उत्पादनस्थल एवं भण्डारणस्थलको निर्माण सुधार गरेर मात्र उत्पादन तथा विक्रि वितरण गर्न लगाउने जस्ता सुधारात्मक कारबाहीहरु पनि हुदैं आएको छ ।

     अन्त्यमा आम सर्वसाधारणलाई चाडपर्वको अवसरमा कस्ता प्रकृतिको खाद्यान्नको उपभोग गर्न र कस्ता प्रकृतिका खाद्यान्नको उपभोग नगर्न सुझाव दिनुहुन्छ ?
    –अन्त्यमा आम सर्वसाधारणलाई चाडपर्वको अवसरमा स्वच्छ र गुणस्तरीय खानेकुरा नै स्वस्थ्य जिवनको आधार हो भन्ने तथ्य  मनन् गरीदिनु हुन र सोहि अनुसार खाद्य पदार्थको छनौट, खरीद र उपभोग गर्न हुन हार्दिक अनुरोध गर्दै स्वच्छ, स्वस्थ तथा गुणस्तरीय खाद्य पदार्थको उत्पादन, खरीद बिक्री तथा उपभोगमा उत्पादक, विक्रेता, उपभोक्ता र हामी नियमनकारी निकायहरु सबैको अहम् भूमिका एवं जिम्मेवारी रहेकोले खाद्य स्वच्छता तथा खाद्य गुणस्तर कायम राख्न सबैको सहयोग अपरहिार्य हुने कुरा म यहां राख्न चाहान्छु  । तपाईको लोकप्रिय पत्रिका मार्फत आम जन समुदायमा आसन्न चाडपर्वहरु बडादशैं, शुभदिपावली र छट पर्व २०७३ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना समेत ब्यक्त गर्दछुं । धन्यबाद ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.