भैरहवा, चैत्र २१ । “सचेत उपभोक्ता बनौं, समान खरिद गर्दा , बिल बिजक माग्ने गरौं” भन्दै स्थानिय कर कार्यलयले बेला बेला सूचना प्रवाह गर्ने गर्दछ । सरकारले उपभोक्तालाई सचेत गराउंनकोलागी सूचना प्रवाह र सचेतनाकोलागी लाखौं रुपैया पनि खर्च गर्ने गरेको छ । तर उपभोक्ताले समान खरिद गरेपछि बिलबिजक माग्ने गर्दा व्यापारीले समान फिर्ता माग्ने गरेका छन् ।
आन्तरिक राजस्व कार्यलयको सुविधा सम्पन्न कार्यालय रहेको भैरहवा क्षेत्रकै व्यापारीले उपभोक्तालाई बिल दिन मान्दैनन् । बिल माग्दा समान फिर्ता दिनुपरेको तीतो यथार्थ सुनाउँदै सिनपा ७ का हरिबहादुर कुँवरले भने “मैले प्लाइउड, कांटी गरी करिब ६ हजार मूल्यको समान नारायणस्थानको सुन्दर हार्डवेयरबाट खरिद गरे । समान लिईसकेपछि इस्टीमेट बिल दिइयो । मैले पान बिल दिनुस् भन्दा दिन मिल्दैन , बिल नै चाहिने भए अर्को पसलबाट लिनुस । समान छोडेर जानुस भनेकोले मैले समान छोडेर आए । पछि त्यहि समान अर्को पसलबाट खरिद गरे । ”
कुवंर जस्तै सिनपा १० शंकरपुरका विक्रम उपाध्ययले मैत्रीपथको तिरथको दोकान भन्ने पसलबाट किराना सामाग्री खरिद गरे, तर उनले बिल माग्दा सादा कागजमा छाप लगाएर आनन्द किरानाको नाममा बिल दिइयो । कुवंर र उपाध्यय जस्तै यो सम्वाददाताले पनि बिल माग्दा व्यापारीसंग लामो छलफल नै गर्नु परेको थियो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीको मुख्य प्रवेशद्वार अगाडीको न्यू सस्तो बजार नाम भएको पसलबाट यसै हप्ता जुत्ता, टिसर्ट खरिद गरी बिल बिजक मान्दा व्यापारीले दिएनन् । आफ्नो नाम समेत बताउन नमानेका व्यापारीले सो पसलमा कुनैपनि निकायमा दर्ता गरेको प्रमाणपत्र पनि राखेका छैनन् । १ हजार ७ सय मूल्य बराबरको सामग्री खरिद गरेपछि बिल नभई समान नलैजाने भएपछि उनले एउटा कागजको चिरकटोमा बील बनाएर दिए । हेर्दा अत्यन्तै आकर्षक देखिने उक्त पसलले समान खरिद गर्ने ग्राहक कसैलाई पनि बिलबिजक दिने गर्देन् ।
नगरपालिकाभित्र दैनिक हजारौंको कारोबार गर्ने दोकानले बिल विजक दिन नमानेका यी केही दृष्टान्त मात्र हुन् । भैरहवामा रहेका हार्डवेयर, भाडा पसल, किराना पसल, फर्निचर दोकान र कपडा पसलले बिल दिनै अत्यन्तै आनाकानि गर्ने गर्दछन् । कयौं पसल नगरपालिकाले प्रदान गर्नेे सुविधा लिएर न नगरपालिकामा दर्ता भएका छन् न कर कार्यालयमा । कर कार्यालयमा दर्ता भएका पसलहरु पनि सकेसम्म बिलै नदिई मौखिक कारोबार गर्ने गर्दछन् । ग्राहकले बिल मागे इस्टिमेट बिल दिने र साँझ परेपछि हिसाब मिलान गर्दै विभिन्न पार्टीका नाममा बिल काटेर मिलाउने गरेको पाइएको छ ।
व्यापारीले बिल दिन आनाकानी गरिरहेको बेला व्यापारीहरुको संस्था सिद्धार्थ उद्योग व्यापार संघले भने ग्राहकलाई बिल विजक दिनुपर्नेमा जोड दिएका छन् । संघका कोषाध्यक्ष जीवलाल अर्यालले भने “ ग्राहकलाई बिल दिनैपर्छ । समान खरिद गरेपछि बिल पाउनु ग्राहकको अधिकार हो । बिल दिन आनाकानी कुनैपनि व्यवसायीले गर्नु हुदैंन ।” समान खरिद गर्ने ग्राहकलाई बिल बिजक दिनुपर्ने व्यवसायीको कर्तव्य भएको संघका सचिव नेत्र प्रसाद आचार्यले जनाए ।
भ्याटमा दर्ता भएकाले भ्याट बिल र पानमा दर्ता भएकाले पान बिल दिनैपर्ने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले जनाए । भण्डारीले नियतबशः बिल नदिनेलाई कारबाहीको दायरामा ल्याउन संगठनले सरकारी नियकालाई सहयोग गर्ने तर इम्पोर्टरले अन्डर बिलींग गरि सामग्री पठाउदा व्यवसायीले बिल दिन हिचकिचाउने गरेको पनि बताए ।
यता आन्तरिक राजस्व कार्यलय भैरहवाका कर अधिकृत प्रदीप रेग्मीले बिल बिजक दिने लिने नगरी कुनैपनि व्यवसाय गर्न नपाईने बताए । उनले भने “बिल अनिवार्य दिनैपर्छ बिल नदिएमा व्यवसायीलाई त कारबाहि हुन्छ , हुन्छ बिल लिन नमान्ने ग्राहकलाई पनि कारबाही हुन्छ । यसैले बिल लिने दिने गर्नु ग्राहक र व्यवसायी दुबैको कर्तव्य हो । ”
आयकर ऐन १५९ को (क) उल्घंन गरी कसैले दर्ता नगरी व्यवसाय सन्चालन गरेमा ३० हजार सम्म शुल्क लगाउने नियम छ । भैरहवामा प्रहरी कार्यलयकै अगाडी न्यु सस्तो पसल खोलेर विना दर्ता सन्चालनमा आएको बुझिएको छ । यस्ता विना दर्ताका धेरै व्यवसाय भैरहवा क्षेत्रमा मात्रै होइन जिल्लाको भित्री शहरहरुमा पनि रहेको बुझिएको छ ।
भ्याटमा दर्ता भएर भ्याट बिल नदिएमा एउटा बिजकको ५ हजार र घट् बिल काटेमा प्रति बिलको २ हजार , खरिद विक्री खाता प्रमाणित नगरी व्यवसाय सन्चालन गरेमा १० हजार, सादा विल दिएमा तथा ग्राहकलाई बिल दिन आनाकानी गरेमा आयकर ऐन अनुसार कडा कारबाही हुने कर अधिकृत रेग्मीले जनाए ।