भैरहवा, चैत्र ३० । वसन्तपुर गाविसले मंगलबार एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाविस भएको घोषणा गरेको छ ।
वसन्तपुरको ऐक्यबद्धता खुल्ला दिशामुक्त, पूर्ण खोपयुक्त र पूर्ण सरसफाइमा प्रतिबद्धता भन्ने मूल नाराका साथ आफ्नो अभियानलाई अगाडि बढाएकोे वसन्तपुर गाविसका सचिव खेमप्रसाद ढुंगानाले घोषणा कार्यक्रममा बताएका थिए । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिक रहेको र सिद्धार्थनगर नगरपालिकाको सामिप्यमा रहेको यस गाविस बत्तीमुनिको अँध्यारोजस्तै विगतमा देखिएतापनि अब यसले विकासका पाइला अगाडि बढाउँदै लगेको गाविस सचिव ढुंगानाले बताए ।
१२ सय ४२ घरधुरी समेत रहेको यस गाविसको जनसंख्या ८ हजार ९ सय ७५ रहेको छ । विभिन्न जाति, धर्म र समुदायका मानिस बसोबास गर्ने यस गाविसमा पहाडी र मधेसी मूलका मानिसहरुको सम्मिश्रण बसाई रहेको गाविस कार्यालयले जनाएको छ ।
शिक्षाको हिसाबले समेत एक निमावि, दुई मदरसा र तीनवटा सामुदायिक विद्यालय रहेका छन् र यो गाविस पूर्ण साक्षर गाविसको रुपमा समेत घोषणा भईसकेको छ । नेपाल सरकारले सन् २०१७ सम्म खूल्ला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल पार्नका लागि नेपाल रेडक्रस सोसाईटी, वास सम्बन्धी कार्यक्रम, भी वास सी सी रुपन्देहीको संयोजनमा यस गाविस पूर्ण खुल्ला दिशामुक्त गाविस को रुपमा घोषणा भएको गाविस सचिवले बताएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको घोषणा सभामा स्थानीय जनसमुदायहरु, सरकारी कार्यालयका प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेको घोषणा सभामा सरोकारवाला निकायहरुले मन्तव्य राखेका थिए ।
भी वास सीसीका संयोजक श्रवण पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले समेत स्थानीयहरुमाझ सचेतनामूलक मन्तव्य मार्फत विभिन्न जानकारी प्रदान गरेका थिए ।
सावित्री घिमिरे