भैरहवा, वैशाख २ । नेपाली सेनाका पुर्व प्रधानसेनापति रुक्मांगत कटुवालले नेपाली संस्कृतिमाथी चौतर्फी हमला भइरहेको बताएका छन् ।

नयाँ वर्ष २०७३ को अवसरमा हिन्दु स्वयंसेवक संघ भैरहवा विभागद्वारा बुधवार भैरहवामा आयोजित संस्कृति रक्षा दौड प्रतियोगितापछि संचारकर्मीहरुसगँ कुराकानी गर्दै उनले नेपाली संस्कृतिमाथी चौतर्फी हमला भइरहेको अवस्थामा सबै नेपालीलाई एकजुट भएर यसको सामना गर्न आग्रह गरे ।
परम्परागत संस्कृतिमाथी अज्ञानता, गरिबी लगायतका कारण चौतर्फी हमला भइरहेको छ पुर्व प्रधानसेनापति कटुवालले भने भाषा धर्म, जाति, समुह छाडेर अब सबै नेपाली एक भएर यसको सामना गर्नुपर्छ ।
उनले सबैभन्दा पहिला सबै नेपाली भएर बाँच्नुपर्ने बारम्बार दोहोराउदैं नेपाली भएपछि मात्र हिमाली, पहाडी र तराईबासी हुने बताए ।
सेनाको प्रधानसेनापति छदां तत्कालिन प्रधानमन्त्री एमाओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदलाई धरापमा पारिदिएर राजनितीमा चर्चाको शिखरमा आएका कटुवालले दलगत राजनिती भन्दा नेपालीपनलाई जोड दिनुपर्ने भन्दै राजनितीमा पोलिटिक्स घुस्दा समस्या आएको पनि जनाए ।

पुर्व सेनापति कटुवालले कानुन सबैले मान्नुपर्ने बताउँदै नयाँ वर्ष २०७३ ले सबै नेपालीलाई नेपाली बन्ने अभिप्रेरणा जागोस् भन्ने शुभेच्छा प्रकट गर्दै भने काठमाण्डौंमा विपत्ति पर्दा ग्यास र तेल आपुर्ति गरेर भैरहवा नाकाले ठुलो योगदान दिएकोले यहीबाट संस्कृति रक्षाकोलागी पहल भएकोमा खुसी पनि छु ।
संस्कृति रक्षा दौडमा सहभागी सयौं जना मध्ये प्रथम भएका इन्द्र थापा, द्वितीय भएका अजय कुर्मी, तृतिय भएका सत्येन्द्र यादव र सान्तनवा भएका मोहमद रफी, जित बहादुर लाई पुर्व सेनापति कटुवालले क्रमशः ११ हजार, ७ हजार, ५ हजार र ११ सय नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।