दोस्रो चरणको स्थानीय निकायको निर्वाचन नजिकिंदै गर्दा तराईका जिल्लाहरुमा पनि उम्मेदवारहरु चयन गर्ने होडबाजी चलेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि सबै राजनीतिक दलहरुले उम्मेदवारहरु चयनको प्रकृयालाई अन्तिम चरण पु¥याएको बताएका छन् । प्राय दलहरुको मुख्य पदमा पाका र पुरुष उम्मेदवारहरुलाई प्राथमिकतामा पारेका छन् । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले भने सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार पुनम अग्रवाललाई उठाएको छ । विक्रम सम्वत् २०३९ साल बैशाख ५ गते पूर्वी नेपालको सिराहामा जन्मिएकी पुनम व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा होमिएकी हुन् । बुबा बैजनाथ अग्रवाल र आमा सन्तोषी अग्रवालको सुपुत्री पुनम शिक्षित र योजनाकार नेतृको रुपमा राजनीति वृतमा परिचित छिन् ।
मेडिकल माईक्रोबायोलोजीमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी उनी भारतको आन्ध्रा विश्वविद्यालयबाट विद्यावारिधी गर्दैछिन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा तथा नेपाल भारत मैत्री संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सिद्धार्थ अग्रवालकी धर्मपत्नी पुनम नगरको समृद्धि र आर्थिक विकासका लागि महिला सहभागिता र नेतृत्व आवश्यक देखेर आफुलाई पार्टीले नगरप्रमुखको उम्मेदवारमा उठाएको बताउँछिन् । हरेक परिवर्तनका आन्दोलनमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेपनि सामाजिक र सांँस्कृतिक रुपान्तरणका लागि महिलाको नेतृत्व कम भएकाले उनको यो उम्मेदवारी नगरबासीको चाहना बमोजिम भएको उनको भनाई रहेको छ । मार्गनिर्देश गर्नसक्ने, सबै वर्ग, युवा, महिला, पुरुष,पिछडिएको समुदाय, विभिन्न जातजाति र समुदायको नेतृत्वका लागि पनि सिद्धार्थनगरमा योग्य, शिक्षित र भिजन भएको नगर प्रमुख आवश्यक भएकाले अब नगरवासीले नयाँलाई अवसर दिनेमा पुनम ढुक्क छिन् । राजनीति सिद्धान्त, नीति, विधि र प्रकृयामा चल्ने भएकाले पनि जनमानसमा हाम्रा भन्दा राम्राको खोजी भइरहेको सिद्धार्थनगर नगरपालिकाको प्रमुखकी उम्मेदवार पुनमको भनाई छ ।
सबैखाले बेथितिको अन्त्य , शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, स्थानीय बजार प्रवद्र्धन, वातावरण संरक्षण, सडक व्यवस्थित विस्तार, जेष्ठ नागरिक, अपांगता, अशक्तको सम्मान तथा व्यवस्थापन,बैकल्पिक उर्जाको विस्तार र बेरोजगार समस्याको न्यूनीकरणका लागि सिद्धार्थनगरलाई युवा उम्मेदवारको आवश्यक रहेकाले आफूले नगर प्रमुखको उम्मेदवार दिएको पुनम बताउँछिन् । यसैको सेरोफेरोमा रहेर पुनमसंँग लुम्बिनीखबरले गरेको कुराकानी ।

सिद्धार्थनगरमा यहाँको उम्मेदवारी किन ?
–यस सिद्धार्थनगरलाई युवा नेतृत्वको खाँचो छ । जुनकुनै पनि राजनीतिक पार्टीबाट आउन सकेन । यो नगरले एउटा ठुलो परिवर्तन खोजिरहेको छ । त्यसैले त्यो पूरा गर्नको निम्ति मेरो उम्मेदवारी परेको हो ।
नगर प्रमुखको लागि तपाइँ के कारणले योग्य हुनुहुन्छ ?
–नगर प्रमुखको लागि म किन योग्य छु भने ममा क्षमता छ । जस्तो मलाई लाग्दछ । जुन कुरा मैले शुरुमै भने यो नगरले एउटा आमूल परिवर्तन खोजेको छ । मैले विगतदेखि नै देख्दै आएको छु कि यस नगरमा झुठको खेती मात्र भै राखेको छ । त्यो आज पनि भैरहेको छ । म कुनै राजनीतिक पार्टीको नाम लिन चाहन्न तर त्यो उहाँहरुको घोषणापत्रबाट नै स्पष्ट हुन्छ । त्यसैले मेरो उम्मेदवारी परेको हो ।
निर्वाचनमा विजय भए सिद्र्धाथनगरलाई कस्तो बनाउने सपना यहाँको छ ?
–म सफल भएमा हैन कि मलाई विश्वास छ म सफल हुन्छु । यस नगरका जनताको स्नेह मैले प्राप्त गर्नेछु । यस नगरलाई पर्यटकीय नगरको रुपमा स्थापित गर्ने सोच छ । नाका व्यवस्थित गर्ने, भैरहवालाई एउटा स्मार्ट सिटीको रुपमा विकास गर्ने, सार्वजनिक स्थलहरुमा वाईफाई फ्रि गर्ने, प्रत्येक वडामा पक्की बाटो र नालीको निर्माण गर्ने,सरसफाईलाई विशेष ध्यान दिने लगायत जनतासँग प्रत्यक्ष रुपमा जोडिएका थुप्रै कार्यहरु छन् ।
नगर प्रमुखमा यहाँले जित्ने भरपर्दो आधार के छ ?
–नगर प्रमुखमा जित्ने मेरो आधार भनेकै आजको जनमानसमा युवा नेतृत्व प्रतिको विश्वास हो । एउटै अनुहार हेर्दा हेर्दै मानिसहरु वाक्क भैसके, जहिले पनि जनतालाई झुटको खेती गर्दै बेवकुफ बनाउने जुन परम्परा हाम्रो समाजमा छ । त्यो परम्परालाई तोड्नको निम्ति मेरो उम्मेदवारी हो र पत्रकार साथीलाई म के भन्न चाहन्छु भने यो उम्मेदवारी त्यसै आएको हैन । मेरो उम्मेदवारीमा एउटा ठुलो समुहको समर्थन पनि छ । जसले चाहन्छ कि यो नगरमा केही परिवर्तन होस् ।
यहाँको मुख्य प्रतिस्पर्धी कुन दलसँग हुन्छ होला ?
–हेर्नुस् प्रतिस्पर्धा त प्रत्येक दलसँग हुन्छ । किनकी सबै जना जित्नको लागि नै लड्ने हो । तर मलाई जुन प्रकारको समर्थन जनमानसबाट आइरहेको छ । त्यसमा मलाई के लाग्दछ भने सायद मेरो वरिपरि पनि अरु कुनै उम्मेदवारको भोट मलाई हुने भोट जति हँुदैन ।
चुनावी गतिविधिलाई कसरी अगाडि बढाउनु भएको छ ?
–चुनावी गतिविधिको कुरा गर्दा घरदैलो र नगरका जनताहरुसँग समूहगत रुपमा हाम्रो व्यापक रुपमा अन्तरक्रिया चलिरहेको छ ।
चुनावको प्रचारमा जनताको सदभाव यहाँलाई कस्तो रहेको छ ?
–आज जुन आँट मैले गरेको छु । यस नगरको प्रमुख पदमा उठ्ने त्यो यस नगरका जनताहरुको सद्भावले गर्दा नै हो । मैले अघि पनि भनिसकेँ मलाई यो पदमा उठाई यस नगरको विकासको ढोकालाई खोल्नको निम्ति जुन मैले व्यापक रुपमा समर्थन पाईरहेको छु त्यो सदभाव जनमानसको माझ अझ बढेको महसुस गरिरहेको छु ।
सिद्धार्थनगरको खास समस्या यहाँले केके देख्नुभएको छ ?
–यस नगरमा मैले समस्यै समस्या देख्छु यो भगवान गौतम बुद्धको जन्मस्थलसँग जोडिएको नगर हो । यसको आफ्नै महत्व छ । पैदलयात्रीको दृष्टिकोणले बेलहिया नाका नेपालको सबैभन्दा ठुलो नाका हो । तर त्यसको अवस्था हेर्नुस्, बाटोको अवस्था, नालाको अवस्था, फोहोर व्यवस्थापनको अवस्था हेर्नुस्, कुनै पनि कुरा आफैमा पूर्ण छैन । जुन अलि अलि काम भएको छ त्यसमा पनि व्यापक राजनीति छ । पहँुचवालाको घर अगाडि वर्षमा दुईपटक बाटो पिच हुन्छ । तर पहुँच नभएको जनता को घर अगाडिको अवस्था हामी सबैले बुझेकै कुरा हो ।
कस्ता एजेण्डा बोेकेर यहाँ जनता माझ जानुभएको छ ?
–मेरो एजेन्डा भनेको जनतासँग प्रत्यक्ष रुपमा जोडिएको समस्या हुन् । म टे«न ल्याई दिन्छु,बन्न नसकेको अन्तरराष्ट्रिय विमानस्थल लाई ६ महिनामै जादुको छडी घुमाएर बनाईदिन्छु । नगरको विकास गर्ने पैसाले सस्तो भोजनालय चलाउँछु । यस्ता हावादारी कुरा मलाई र मेरो पार्टीलाई आउँदैन हाम्रो स्पष्ट एजेन्डा भनेको यो नगरको जनतासँंग प्रत्यक्ष रुपमा जोडिएको दैनिक जीवनका समस्या नै हो ।
सिद्धार्थनगरबासीले यहाँलाई किन भोट दिने ?
–यो कुरा त यस नगरका जनतालाई नै सोध्दा राम्रो होला । किनकि मेरो उम्मेदवारी जनताको बीचबाट आएको हो । नगरका बहुसंख्यक जनताहरुबाट विश्वास गरेर मेरो उम्मेदवारी परेको हो ।
अन्त्यमा ?
–यस नगरका आदरणीय जनतासँग म के अनुरोध गर्न चाहन्छु भने कुनै पनि किसिमको झुटो प्रलोभनमा नपरी यस नगरलाई एउटा जुझारु र युवा नेतृत्व प्रदान गर्नुस् जसले यो पर्यटकीय नगरलाई राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय रुपमा नै पहिचान गराउन सफल होस् ।योग्य, शिक्षित र भिजन भएको नगर प्रमुख आवश्यक ः अग्रवाल