बैशाख १० शुक्रबार
म्याग्दीः चार दशकभन्दा लामो समयसम्म रोजगारीका लागि प्रवासमा विताएका गोर्खा सैनिकका सेवानिवृत्त पूर्वमेजरले आफ्नो जन्मथलोको विकासका लागि लाखौँ रकम आर्थिक सहयोग गरेका छन् । 
हिस्तान–५ टिकोट घर भई हाल पोखरामा बस्दै आएका चन्द्रबहादुर पुन र उनका परिवारले टिकोट गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र, विद्यालय भवन र सडकलगायतका पूर्वाधार निर्माणका लागि ४० लाखभन्दा बढी सहयोग गरेका छन् ।
बेलायतको गोर्खा सैनिकका सेवानिवृत्त पूर्वमेजर ७३ वर्षीय चन्द्रबहादुरले विदेशको कमाइका साथै आफूले पाउने पेन्सन सुविधा गाउँको विकासका लागि उपलब्ध गराएका हुन् ।
पुनका परिवारले टिकोटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न रु २२ लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका छन् ।
चन्द्रबहादुरले दिवङ्गत श्रीमतीको स्मृतिमा कोष स्थापना गरेको स्थानीय टिकोट माविका प्रअ प्रदीप पुनले जानकारी दिए ।
रुपीमाया सामुदायिक स्वास्थ्य केन्द्र नामाकरण गरिएको केन्द्र सञ्चालनका लागि कोष स्थापना गर्न चन्द्रबहादुरले सात लाख, छोराहरु सन्त, विष्णु, लीलमान पुन र छोरी रत्नमाया बरालले रु दुई÷दुई लाख, भाइ हर्कबहादुरले रु दुई लाख सहयोग गरेका छन् ।
चन्द्रबहादुरका दाइका छोराछोरी, नाति र भाउजू मनिषा पुनले कोषमा थप पाँच लाख पाँच हजार जम्मा गरेका छन् ।
अक्षयकोष रकमको ब्याजबाट क्लिनिकको व्यवस्थापन, कर्मचारीको तलब र औषधि खरिद गर्न परिचालन हुने गरेको छ ।
बेलायतको गोर्खा सैनिकमा ३२ र बु्रनाईमा १२ वर्ष काम गरेका पुनले टिकोट माविको १६ कोठे पक्की भवन निर्माणका लागि पनि थप २० लाख नगद सहयोग गरेका छन् ।
प्रअ पुनका अनुसार चन्द्रबहादुरले महभिर टिकोट सडक निर्माणका लागि ५४ हजार ५०० सहयोग गरेका थिए ।