पाल्पा, बैशाख । वर्षभरी खानेपानीको मुहान सुकेपछि गाम्रीण क्षेत्रका बासिन्दाहरु यसपालि फागुत चैतमा पानीको चिन्तामा डुबेका छन् । मुझुङ्ग गाविस–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी संकलन गर्दा पनि दुई गाग्रो भर्न समस्या भएपछि स्थानीयबासिन्दाहरु पानीको चिन्तामा डुबेका हुन ।
गत वर्षसम्म १२ महिना पानी प्रशस्त हुने मुहानमा अहिले दुई गाग्रो पानी भर्न नपुगेपछि यहाँका स्थानीय गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौतारिएका छन् । मुझुङ्ग गाविस– १, २, ७ र ८ का झण्डै दुई सय घरपरिवारका लागि पहिला खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ फागुन देखि नै पानीको मुहान सुकेपछि स्थानीयबासिन्दाहरुलाई यतिबेला पानीको जोहो गर्न समस्या भएको बताएका छन् ।
पिपौदीमा पानीको मुहान सुकेपछि पानीको मुहानको खोजीमा मुझुङ्ग गाविस–७ स्थित लामटाङ्गेको धारामा पानी ल्याउनका लागि धाउन परेको स्थानीय सुमित्रा दर्नालले बताउनुभयो ।
उहाँले भन्नुभयो–“तीन घण्टा कुरेर एक गाग्रो पानी भर्न पाइन्छ, अरु पानीका मुहान सुकेपछि सवैले खानेपानी ल्याउने धारा नै त्यही बनेको छ । त्यस धारामा खानेपानी मात्र थाप्न पाइन्छ, नुहाई धुवाई गर्न त छहरा गाविस–५ मंगालको खोलामा जानुपर्छ ।”
गतवर्ष लामो समय पानी नपरेपछि मुहान फुट्नै नपाएपछि यसपालि पानीका मुहानहरु छिटै सुकेको स्थानीय बुढापाकाहरुले बताउँछन् । विगतमा पानीको यसरी समस्या हुने थिएन, तर खडेरी हुने गरेपनि पानीका मुहान सकेर गाउँलाई यति धेरै समस्या नभएको बढापाकाहरुको भनाई रहेको छ ।
भैरवस्थान–३ का टोपनारायण रायमाझीका अनुसार यसवर्ष माघ फागुनमा नै एकदर्जन भन्दा बढी पानीका मुहानहरु सुकेका छन् । परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहानहरु सकेपछि गुहणी तथा बालबालिकाहरु ठुलो समस्या भोग्न बाध्य भएका हुन ।”
उहाँले भन्नुभयो–“पहिला हामी साना छर्दैदेखि खानेपानीहरुको मुहान पुरै सुकेको छ, यस गाविसभित्र रहेको एकदर्जन मुहानहरु सकेका हुन । पानीको जोहो गर्नुपर्ने बाध्यताले बढी समय खर्च गर्नुपर्ने स्थिति आएको छ ।”
पानीका मुहान सुकेपछि पानीको मुहानको खोजी गर्नेहरुमा तानसेन नपा, पालुङ्गमैनादी, कुसुमखोला, खस्यौली, भैरवस्थान गाविस लगायतका गाविसमा पानीको निकै समस्या रहेको छ । पहाडी जिल्ला भएकाले पनि मानिसहरु लेकमा बस्ने गरेकाले पनि पानीको समस्या झण्डै बढेको स्थानीय बताउँछन् ।