कमल रायमाझी
भैरहवा, १३ बैशाख । रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग आजबाट औपचारिक रुपमा गाभिएको छ ।
उक्त समारोहको समुदघाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
समारोहमा बोल्दै डा.नेपालले मेगा बैंकलाई मर्जर पछिको कारोबारको लागि हार्दिक शुभकामना दिनुभयो र आगामी दिनमा अझ प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।
पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगा बैंकमा गाभेर आजबाट संयुक्त कारोबार सुरु गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो । मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा आदानप्रदान (स्वाप) गर्ने निर्धारण भएको छ । मेगा बैंकको यो पहिलो मर्जर हो । यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष भोजबहादुर शाहले बताउनुभयो ।
मेगा बैंकलाई प्रादेशिक संरचनामा लैजान लागिएको जानकारी दिँदै उहाँले सबै प्रदेशमा ‘प्रादेशिक केन्द्र’को स्थापना गरिने बताउनुभयो । बैंकको पहुँचभित्र पर्न नसकेका उद्योगी, व्यवसायी, कृषि, पर्यटन सबै क्षेत्रमा पहुँच पुराउने उद्देश्यले वुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । यो मर्जरसँगै मेगा बैंकलाई अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुल्ला रहेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताउनुभयो ।
पश्चिमाञ्चलका १४ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ४४ वटा पुगेका छन् । यसअघि मेगा बैंकको शाखा कार्यालय नभएका पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङजा लगायतका जिल्लामा पनि मेगा बैंक विस्तार भएको छ । कतिपय शाखालाई बजारको अध्ययन गरि पुनःस्थानान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।
यो मर्जर पछि मेगा बैंकको चुक्ता पुँजीे ३ अर्ब २४ करोड, ३१ अर्ब निक्षेप, २५ अर्ब ५ करोड कर्जा प्रवाह रहेको छ । साथै देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १३५० स्थानमा मेगा रेमिटको सञ्जाल र १ एक्सटेन्सन काउन्टर रहेको छ ।