लामो समय क्रिकेट खेलाडीको भुमिकामा रहनुभएका हरि बहादुर थापा अहिले रुपन्देही क्रिकेट संघको अध्यक्ष हुनुहुन्छ । भर्खरै भएको संघको अधिबेसनबाट अध्यक्ष निर्वाचित पुर्व क्रिकेटर थापासंग लुम्बिनीखवरले संघको आगामी योजनाका विषयमा गरेको कुराकानी ।
यहाँ भर्खरै रुपन्देही क्रिकेट संघको अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ? अबको दिनमा क्रिकेटलाई अगाडी बढाउन कस्ता कस्ता योजनाहरु अघि सार्नुभएको छ ?
रुपन्देही क्रिकेट संघ भनेको नेपाल अधिराज्यकै क्यान पछिको एउटा नमुना संघको रुपमा रहेको छ । यसका केहि योजनाहरु जुन जो कोहि नेतृत्वमा आएपनि गर्दै जानुपर्ने हुन्छ । जस्तै सुपरलिग खेलहरु, जुनियर, सिनियर तर्फ खेलाडीहरुको छनोट गर्ने, जिल्ला स्तरीय टिम तयार पारेर माथि पठाउने जस्ता कार्यहरु नेतृत्वमा जो आएपनि गर्छ र गर्नुपर्ने यहाँको आवश्कता हो । यसमा थप हामी दोस्रो कार्यसमितिको बैठक बसेर पुस २७, २८ र २९ गते गत सालको ट्यालेण्टेड र उपविजेता बिचमा तीन वटा टीम बनाएर तीन दिवसीय जेपी स्पोर्ट्स प्रेसिडेण्ट कप गर्दैछौ भने फागुन ७ गतेबाट निरन्तर हुने खेलअन्तर्गत सुपरलिग पनि गर्न गइरहेका छौ । पहिला पहिला एन्टीसी सुपरलिग भनेर गरेका थियौ तर एन्टीसीसंग कन्ट्याक्ट टुटिसकेकोले यदि एन्टीसीसंग कनेक्टिभिटि हुन सक्यौ भने एन्टीसी सुपरलिग नै हुन्छ, अन्यथा जो संग सम्झौता गर्छौ उसैको नामबाट ४५ दिनसम्म सुपरलिग संचालन गरिन्छ । यो संगै क्रिकेटको विकास गर्न क्रिकेट टुर्नामेण्टलाई हामी विशेष जोड दिने सोचेका छौ । इन्डो–नेपाल क्रिकेट आयोजना गर्ने पनि हामीले लक्ष्य लिएका छौ । खेलकुदमा हामी नमुनै छौ यो कुरा यहाँलाई पनि थाहा भएकै कुरा हो । अबको दिनमा विगतभन्दा प्रशासनिक सूधारहरु गर्नुपर्ने छ । संघको आफ्नै प्रशासनिक भवन छैन । हामीलाई खेलकुद मन्त्रालयले बनाएर दिएका पूर्वाधारहरुको पनि राम्रोसँग प्रयोग भएका छैनन् । झ्याल ढोकाका सिसाहरु फुटेका छन्, अन्य भौतिक पूर्वाधारहरु पनि अव्यवस्थित रहेको अवस्थामा छन् । संक्षिप्तमा भन्नुपर्दा प्रशासनिक सूधार गर्दै निरन्तर खेलहरु आयोजना गर्ने र रुपन्देहीमा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने हाम्रो मुख्य लक्ष्य हो ।
निर्वाचन प्रक्रियाबाटै अध्यक्ष भैराख्दा पराजित समूहलाई रुपन्देही क्रिकेट संघले कसरी समेटेर अगाडी बढ्छ ?
निकै राम्रो प्रश्न गर्नुभयो । जहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ कुनै न कुनै ठाउँमा समन्वय गरेर मिलेर गइन्छ । हामी पनि निर्वाचनमा भोटिङ सिस्टमबाट विजयी भएर आएका छौं । जसमा कोही पराजित पनि हुनुभएका छन् । पराजित व्यक्तिहरु पनि क्रिकेटर हुन् । म पनि क्रिकेटर नै हुँ । अब जो पराजित हुनुभएको छ, उहाँहरु क्रिकेटर भएको नाताले कहिल्यै पनि क्रिकेट छोड्नु हुन्न तसर्थ यस रुपन्देही क्रिकेट संघले सदैव उपविजेता टिमसँग समन्वयकारी भूमिकाका साथ उहाँहरुलाई पनि संगसंगै लिएर हिड्ने छ ।अपेक्षा गर्नुहोस, रुपन्देही क्रिकेटमा हामी नयाँ युगको शुरुवात गर्छौ ।
यहाँ पूर्व क्रिकेटर पनि हुनुहुन्छ, तर खेलाडीहरु व्यापारीले क्रिकेट संघ कब्जा गर्यो भनेर आरोप लगाइरहेका छन् नि ? यसबारे यहाँ के भन्नुहुन्छ ?
बाहिर तपाईहरुले कसरी सोच्नुभएको छ, मलाई थाहा छैन । सामाजिक सञ्जालमा र विभिन्न पत्रपत्रिकाहरुमा पनि व्यापारीले रुपन्देही क्रिकेट संघमा नेतृत्व गर्यो भनेर भेट्नु भएको छ । तर म भन्न चाहान्छु हरि बहादुर थापा शक्ति गौचन भन्दा कम क्रिकेटर होइन । यसलाई तपाईं कसरी लिनुस् भन्दा, म रुपन्देही क्रिकेट संघको नेतृत्वमा नहुन्जेलसम्म दुई वर्ष अघि डोमेस्टिक गेमहरु खेल्थे भने नेपालको राष्ट्रिय टुर्नामेन्ट पनि दुई पटक खेलिसकेको छु । त्यस्तै जिल्लामा दुई कार्यकाल सदस्य पदमा रहेर काम पनि गरेको छु भने क्षेत्रमा एक कार्यकाल सहसचिव भएर समेत काम गरेको छु । पछि कामसंगै व्यापारी भइसकेपछि पनि रुपन्देही क्रिकेट संघलाई आर्थिक रुपले उन्नतिका लागि म सदैव काम गर्ने व्यक्ति हुँ । अझैं भन्नुपर्दा म आफैं दुई वटा क्रिकेट एकेडेमीको समेत स्थापना गरेको छु । एउटा साइग्लोबल एकेडेमी हो जुन कलेजको म संस्थापक पनि हो । त्यहाँ अन्तराष्ट्रिय प्रशिक्षक बासु थापालाई राखेर खेलाडी उत्पादनका लागि एकेडेमी चलाएको अवस्था छ । त्यस्तै २०५८ सालमा अर्को प्रोफेसनल मास्टर्स–११ पनि स्थापना गरे, जसले टी–२०, एडमण्ड हिलारी कप लगायत ठुलाठुला टुर्नामेण्टहरु गराएकै हो । एकेडेमिक सेक्टरमा म लामो समयदेखि लागेको हुनाले विद्यालयबाट खेलाडी उत्पादन गर्ने हेतुले ५१ वटा विद्यालयहरुलाई समेटेर मेरो संयोजकत्वमा क्षेत्रिय टुर्नामेण्ट समेत भएको थियो । जुन अहिलेसम्मको ऐतिहासिक हो । अब हरि बहादुर थापा क्रिकेटर होइन भनेर सामाजिक सञ्जालहरुमा आइरहेको अवस्थामा म भन्न चाहान्छु हरि बहादुर थापा पूर्ण रुपले क्रिकेटर हो । क्रिकेटपछि व्यापार गर्दा सफल एउटा व्यवसायी पनि हुँ । नेपालको क्रिकेट क्षेत्रमा शक्तिको योगदान होला तर रुपन्देहीमा हरि थापाको योगदान शक्तिको भन्दा कम चाहि छैन ।
क्रिकेटको उर्वरभूमिको रुपमा परिचित रुपन्देहीमा अझै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न रुपन्देही क्रिकेट संघको भूमिका के हुन सक्छ ?
हामी निर्वाचित हुने बित्तिकै एउटा अवसर पनि पाइयो । क्यानको कार्यसमिति बैठक भैरहवामा थियो । त्यतिबेला सो अवसरलाई एचिभ्मेण्ट भन्न पर्यो । क्यानका अध्यक्षसँग भनेर हामीले क्रिकेट सम्बन्धि छलफल साथै क्यान र रुपन्देही क्रिकेट संघबीचको सहकार्यमा काम होस् भनेर भेटघाट कार्यक्रम राख्यौ, त्यो कार्यक्रम निकै उपलब्धिमुलक रह्यो । अबको दिनमा अन्तराष्ट्रिय खेलाडी ल्याएर उनीहरुसँग प्रतिस्पर्धा गराएर खेलाडीहरुको स्तर बढोत्तरी गर्ने सोचमा छौ । त्यस्तै खेलाडीहरु खेल क्षेत्रमा आएपछि दैनिक गतिविधि र घरायसी खर्च चल्ने खालका गतिविधिहरुमा टेवा पुर्याउनका लागि आवश्यक इक्युपमेण्टका बारेमा क्यानसँगको बैठकमा कुरा राखेका थियौ र हामीलाई दुई जना कर्मचारी र एक जना क्युरेटर दिनु भएको छ । हामीले खेलाडी उत्पादन गर्नका लागि वर्कसपलाई विशेष प्राथमिकतामा राखेका छौ । हामीले राम्रो खेलाडीलाई सर्पोट गर्ने र नराम्रोलाई ट्रेन गर्नेगरी काम गर्नेछौ । कुनै पनि संघको आफ्नो एकेडेमी छैन । हामी अबको केही समय पश्चात् प्रदेशको आर्थिक सहयोगमा एकेडेमी समेत सञ्चालन गर्ने योजनामा छौ । जुन हामी पैसा कमाउनका लागि नभएर खेलाडी उत्पादनका लागि हो । जसमा केही मात्रामा शुल्क लाग्ला तर आर्थिक अवस्था कमजोर भएका र महिलाहरुलाई निःशुल्क रुपमा प्रशिक्षण दिने लक्ष्य लिएका छौ । त्यस एकेडेमीबाट अझ धेरै र उत्कृष्ट खेलाडीहरु उत्पादन भए भने तपाईले भनेझै यो ठाउँ क्रिकेटको उर्वरभूमि भनेर मानिएको छ तर अझ क्रिकेटको उर्वरभूमिको रुपमा बिकास हुदै जाने छ ।
अन्त्यमा नेपालको क्रिकेटको विकासका लागि राज्यको भूमिका के हुनुपर्छ ?
ã समग्रमा नेपालको क्रिकेटको विकासका लागि जति हामी रुपन्देही क्रिकेट संघको विकासको कुरा गर्यौ लगभग सब त्यही कुराहरु नै पर्छन् । राज्यले राष्ट्रिय स्तरका खेलहरु आयोजना गर्नेदेखि लिएर अन्तराष्ट्रिय खेलाडीहरुसँग वर्कसप गराउने जस्ता कुरामा जोड दिन पर्यो । विद्यार्थीहरुलाई टेष्ट परिक्षाहरु लियौ भने विद्यार्थी परिक्षासँग डराउदैन नि, त्यस्तै विना अभ्यास एकैचोटि ठुला खेलहरुमा जाँदा गाह्रो हुन्छ । राष्ट्रिय खेलाडीहरुलाई जो खेलमा मात्र आबद्ध भएर आफुलाई देशका लागि सुम्पिएर म खेलाडी हुँ भनेर चिनारीका लागि दुनिया गरेका छन्, त्यस्ता खेलाडीहरुलाई राज्यले पहिलाभन्दा धेरै सुविधा उपलब्ध गराएको छ । तर त्यो सुविधा र तलबले मात्र पुग्दैन, तलब वृद्धि गर्नुपर्छ र खेलाडीहरुको खेललाई कदर गरिनुपर्छ । खेलमा राजनिति हुनु हुदैन । खेलाडीहरु देशकैलागि राष्ट्रिय, अन्तराष्ट्रिय खेलहरु खेलिरहेका छन् । त्यस्ता खेलाडीहरुको जिविकोपार्जनका लागि राज्यले पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । साथै खेल खेल्ने क्रममा कुनै समस्या परे त्यसका लागि छुट्टै कोष खडा गरिनुपर्छ । राज्य खेलाडीहरुप्रति सकारात्मक भई बढीभन्दा बढी खेलहरु गराउने र देशका लागि खेलेका खेलाडीहरुलाई आर्थिक रुपमा समवृद्धि गराउनुपर्छ । खेलाडी राज्यका गहना हुन । उनिहरुको विकास र खेलको विकासमा राज्यलेको भुमिका रहिरहनु आजको आवश्यकता हो ।
यहाँ भर्खरै रुपन्देही क्रिकेट संघको अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ? अबको दिनमा क्रिकेटलाई अगाडी बढाउन कस्ता कस्ता योजनाहरु अघि सार्नुभएको छ ?