भैरहवा, वैशाख । अरुलाई कानुन पालना गराउँदै हिँड्ने व्यक्तिले नै कानुन उल्लङ्घन गरे पछि अन्यायमा परेकाहरुले न्याय पाउने निकै कठिन हँुदोरहेछ । कानुनको परिधिबाट उम्कीनका लागी उनीहरुले चलाखीपूर्णरुपमा सबै किसिमका मापदण्डहरु समेत पुरा गरेका हुन्छन् ।
यस्तै भएको छ । रुपन्देही मानपकडी गाविस वडानम्वर १ रुपन्देहीकी २६ वर्षीय रीता यादवलाई । श्रीमान शसस्त्र प्रहरी जवान अमर यादवले विगत केहि वर्ष देखी हिंसा गर्दै आए पनि उनले न्याय पाउन सकिरहेकी छैनन् ।
श्रीमानले घरबाट निकाल्ने काम मात्र गरेका छैनन् उनलाई । श्रीमानले आफ्नो नाममा रहेको जग्गा समेत अरुको नाममा गरिदिएका छन् । जहाँ श्रीमतीलाई कानुनी रुपमा अंश दिन नपरोस् भनेर । उल्टो श्रीमतीलाई विभिन्न आरोप लगाई उजुरी समेत दिने गरेको पीडितले बताउने गरेकी छिन् ।

श्रीमानको हिंसा र यातना सहन नसकेर अहिले उनी माइतीमा बस्ने गरेकी छिन् । विवाह गर्दा खुशीका वचन दिएर घर भित्राएकी श्रीमतीलाई अहिले विभिन्न किसिमका मानसिक र शारिरिक यातना दिइरहेका अमर यादव भने ढुक्कका साथमा हिँडिरहेका छन् ।
श्रीमती विभिन्न संघ सस्था र स्थानीय प्रशासनसँग न्यायको हार गुहार गर्दै चिच्चाई रहेकी छिन् । श्रीमानले भने उल्टो विभिन्न धम्की दिनेगरेको रिताका नातेदारहरुले बताउँछन् । २०५८ सालमा जातीय परम्परा अनुसार रिता संग वैवाहिक जीवन सुरु गरेका अमर यादवको स्थायी घर आमा गाविस वडा नम्बर १, रुपन्देही हो । हाल उनी शसस्त्र प्रहरी क्याम्प मझगावा, रुपन्देहीमा कार्यरत रहेका छन् ।
विवाह भएको ५ वर्ष रितालाई आफ्नै साथमा राखेर दाम्पत्य जीवन विताएका अमरले अहिले भने विभिन्न बहाना वनाउदै हिंसा गरेको पीडितको रोदनमा देखिन्छ ।
श्रीमानको यातना सहन नसकेपछि पीडित यादव स्थानिय गाँउ समाजमा देखी प्रहरी चौकीहरुमा दर्जनौ पटक न्याय दिलाइदिन भन्दै रुँदै पुगिन् । तर उनले अझ सम्म न्याय पाउन नसक्दा निराश बन्दै आफ्नो अधिकार खोजिरहेकी छिन् ।
स्थानिय स्तरमा छलफल हुदा अमरले श्रीमतीलाई संगै खुसीका साथ राख्ने बताएपनि व्यवहारमा भने कार्यान्वयन गरेका छैनन् । हाल सम्म अमरले विवाह दर्ता र नागरिकताको प्रमाणपत्रबाट समेत श्रीमतिलाई वञ्चित गरेका छन ।
मानपकडी गाविसका स्थानिय समाजसेवी शम्भु चौहान, भुतपूर्व अध्यक्ष मनोहर राज भण्डारी तथा अन्य स्थानीय राजनीतिक दल र गाँउसमाजको अगुवाईमा गत चैत १३ गते भएको छलफलमा अमर यादवले १५ दिन भित्र श्रीमती रीता यादवको विवाह दर्ता र नागरिकताको प्रमाणपत्र समेत दिलाउने आश्वासन दिएका थिए ।
व्यवहारमा भने उनले श्रीमतीलाई छोड्दा अंश दिनुपर्ने भन्दै उनको नाममा दर्ता कायम रहेको कित्ता नम्बर क्रमश २४९,२५१,११६ र ८६को जग्गा बेतकुइया–३,रुपन्देहीका उनका भान्जा दिपेन्द्र यादवको नाममा पास गरिदिएका छन । श्रीमतीका माइती पक्षले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै अमरले ईलाका प्रहरी कार्यालय छपियामा उजुरी समेत दिएका छन् ।
पीडित महिला यादवका दाजु राम असारे यादव भन्छन, “बहिनी अन्यायमा परिन कसले न्याय दिन्छ । बहिनी अन्यायमा परेपछि हाम्रो परिवारमा रोदन भन्दा अरु छैन् । सबै परिवारका सदस्यहरुलाई मानसिक रुपमा बहिनीलाई परेको पिडाले सताएको छ ।” आफु माथि भएको हिंसा प्रति पिडित रिता यादवले आफ्नो जिन्दगी प्रति खेलवाड गर्ने पतिलाई कानुनी कठघरामा उभ्याउनु पर्ने भन्दै न्यायको याचना गरिरहेकी छिन् ।
उनका माइती पक्षले समेत न्यायका लागी रितालाई सहयोगको आवश्यकता परेको भन्दै स्थानिय समाजसेवी शम्भु चौहानले महिला हिंसा सम्बन्धी काम गर्ने संघ सस्थाहरुले पीडितको पक्षमा वकालन गर्न सवैलाई आग्रह गरे । श्रीमतीलाई महिला हिंसा गरेको आरोप लागेका रिताका श्रीमान अमर यादवसग लुम्बिनीखबरकर्मीले सम्पर्क गर्दा भने सम्पर्क हुन सकेन ।